विद्यार्थीलाई न्यानो कपडा वितरण गरिँदै ।

हेटौंडाः मकवानपुरमा डिभाइन युथ क्लबले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । वर्षको मध्य जाडोको समयमा बकैया गाउँपालिका–६, मोरङ्गधापको सगरमाथा प्राविमा पढ्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

विद्यालयमा पढ्ने ८७ जना विद्यार्थीहरुलाई बकैया गाउँपालिका–६ का वडा अध्यक्ष फुलबहादुर भोम्जन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर पाख्रिन, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रविन्द्र पाख्रिन तथा प्रधानाध्यापक विष्णुकुमारी स्याङ्तान लगायतकाले स्वेटर र टोपी वितरण गरेका थिए । कपडा वितरणपछि वडा अध्यक्ष भोम्जनले स–साना विद्यार्थीहरुका लागि चिसो बढिरहेको बेला यसरी सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

सहयोग प्राप्त न्यानो कपडा स्वेटर लगाएका विद्यार्थीको समूह ।

विद्यालयमा माखलो ज्यामिरे, बडार खोला, मोरङ्गधाप लगायतका गाउँबाट विद्यार्थी पढ्न आउने गरेका छन् । तामाङ समुदायको बाहुल्यता रहेको विद्यालय क्षेत्रमा अशिक्षा र गरिवीका कारण धेरै विद्यार्थीले बीचैमा पढाई छाड्ने, विद्यालय नजाने समस्या रहेको विद्यालयकी प्रधानाध्यापक विष्णुकुमारी स्याङ्तानले बताउनुभयो । सानै उमेरमा पढाई छाडेर विद्यार्थीहरु आर्थिक उपार्जनका लागि काठमाडौंका गलैंचा उद्योगमा काम गर्न जाने गरेको उहाँको भनाइ छ । करिव डेढ घण्टा हिँडेर विद्यार्थीहरु विद्यालय पुग्ने गरेका छन् । आर्थिक रुपले विपन्न परिवारका विद्यार्थीहरु जाडोमा न्यानो स्वेटर, टोपी पाएपछि खुसी भएका छन् ।

डिभाइन युथ क्लबमा रहेका पदाधिकारीहरुले आफूले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नु पर्छ भन्ने उद्देश्यले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक सागर पन्थीले बताउनुभयो । डिभाइन युथ क्लब हेटौंडाले यसअघि राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायलाई ब्ल्याङकेट वितरण गरेको थियो ।