सामरी खोलामा माछाका भुरा छाडिँदै ।

धादिङ (मकवानपुरगढी)ः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५, धादिङस्थित सामरी खोलामा स्थानीय रहु र नैनी जातका माछाका ३४ हजार भुरा छाडिएको छ । सोमबार प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौंडाले माछाका भुरा छाडेको हो ।

प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौंडाका प्रमुख सरोज कुमार यादव र मकवानपुरगढी गाउँपालिका–५ का वडा अध्यक्ष जीतबहादुर घिमिरेसहितको टोलीले खोलामा माछाका भुरा छाडेका हुन् । स्थानीय जातका माछा लोप हुन नदिन माछा छाडिएको प्रमुख यादवले बताउनुभयो ।

वडा अध्यक्ष घिमिरेले खोलाका माछा सवैले संरक्षण गर्नुपर्ने बताउनुभयो । खोलामा विष हाल्ने, करेन्ट लगाउने जस्ता काम नगर्न आग्रह गर्नुहुँदै वडाअध्यक्ष घिमिरेले त्यस्तो कार्य गरेमा कानुनी कारबाही गर्ने बताउनुभयो ।