जिल्ला छनोटमा सहभागी मकवानपुरका क्रिकेट खेलाडीहरु । फाइल तस्वीर ।

हेटौंडाः प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोट आज (आइतबार) बाट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ क्यान र बागमती प्रादेशिक क्रिकेट संघको संयुक्त आयोजनामा टि–ट्वान्टी कप २०७८ क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

आज बिहान ९ बजेबाट सुरु भएको पहिलो खेलमा ललितपुरले भक्तपुरसँग मुलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा गरेको छ । यस्तै आज नै हुने दोस्रो खेलमा मकवानपुरले त्रिभुवन विश्वविद्यालय (टियू) सँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल पनि मुलपानी क्रिकेट मैदानमै अहिले १ बजेबाट हुने आयोजकले जनाएको छ । प्रतियोगितामा मकवानपुरसहित बागमती प्रदेशका ७ टिमको सहभागिता रहेको छ ।

मकवानपुर समुह ‘ए’ मा रहेको छ । प्रतियोगितामा मकवानपुरको क्रिकेट टिमले आज दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्दैछ । यस्तै मकवानपुरले आफ्नो दोस्रो खेल भोलि सोमबार दिउँसो १ बजे ललितपुरसँग र तेस्रो खेल बुधबार भक्तपुरसँग खेल्ने तालिका रहेको छ । प्रतियोगिताका लागि नियमित कप्तान रामनरेश गिरीकै कप्तानीमा १४ सदस्यीय क्रिकेट टिम घोषणा गरिएको छ ।

मकवानपुरको टिमः रामनरेश गिरी (कप्तान), सुमन सुनार (उपकप्तान), तक्षक सिम्खडा, गौरव खड्का, आकाश घिमिरे, युविन बुढाथोकी, शुभ कंशाकार, विशाल फुयाँल, रिजन ढकाल, समीर चौलागाई, विपुल खनाल, सुवर्ण भट्ट, असिम श्रेष्ठ र पियुष शर्मा ।