हेटौंडाः हेटौंडा–४ स्थित पाञ्चायन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । बुधबारबाट सुरु भएको साधारणसभा शनिबार सम्पन्न भएको हो ।

सहकारीका अध्यक्ष प्रेमलाल श्रेष्ठको सभाध्यक्षमा भएको समापन कार्यक्रममा सहकारीका सल्लाहकार डा. गणेश बलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले कोरोना महामारीका कारण बन्दाबन्दी र निषेधाज्ञाले संस्थालाई सेवा दिन अत्यन्त असहज भएको र लक्ष्य अनुरुप प्रगति हासिल गर्न नसकेको बताउनुभयो । यस्तै सहकारीका सचिव अक्कल सिंह लामाले आर्थिक वर्ष २०७७/७८ को प्रशासनिक र सामाजिक एवम् व्यवस्थापकीय प्रगतिबारे प्रष्ट पार्नुभएको थियो । उहाँले ७ सय २० शेयर सदस्यको १ करोड ५८ लाख ५८ हजार रुपैयाँ शेयर रकम रहेको बताउनुभयो । सहकारीले ७६ करोड ३ लाख रुपैयाँ कारोबार गरेको जनाइएको छ ।

साधारणसभामा सहकारीले ज्येष्ठ नागरिक सदस्य मिनु कुमारी थिङ र असल बचत तथा ऋणी सायदा खातुनलाई सम्मान गरेको छ । कार्यक्रममा सहकारीका व्यवस्थापक चन्द्रनाथ श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र बर्तौला, लेखापरीक्षक मणिप्रसाद सुवेदी लगायत सेयर सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।