हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १० औं नगरसभा बिहीबार सम्पन्न भएको छ । हेटौंडाका मेयर हरिबहादुर महतको अध्यक्षतामा नगर परिषद्को बैठक सम्पन्न भएको हो ।
बैठकमा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर तथा नगरसभाका उपाध्यक्ष मीनाकुमारी लामाले आर्थिक वर्ष (आव) २०७८/०७९ को नीति, कार्यक्रम एवम् बजेट समीक्षासहितको संशोधित बजेट वक्तव्य पेश गर्नुभएको थियो । हेटौंडा उपमहानगरपालिकाले चालु आवमा तयार पारेको बजेट योजनाहरुमध्ये मंसिर मसान्तसम्म अर्थात् ५ महिनामा २१ दशमलब ५४ प्रतिशत बजेट खर्च भएको उपमेयर लामाले जानकारी दिनुभएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ९ करोड ७७ लाख ५४ हजार रुपैयाँ अर्थात् ३४ दशमलब ११ प्रतिशत बजेट खर्च भएको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ करोड २ लाख ८९ हजार रुपैयाँ अर्थात् १२ दशमलब ८४ प्रतिशत, पूर्वाधार विकास क्षेत्रतर्फ २० करोड ८२ लाख ५३ हजार रुपैयाँ अर्थात् १६ दशमलब ८८ प्रतिशत बजेट रकम खर्च भएको जनाइएको छ ।
यसैगरी सामाजिक विकास क्षेत्रतर्फ २७ करोड ५० लाख ९७ हजार अर्थात् २५ दशमलब ७७ प्रतिशत, आर्थिक विकास क्षेत्रतर्फ १ करोड ४० लाख ४८ हजार रुपैयाँ अर्थात् ९ दशमलब ८९ प्रतिशत रकम खर्च भएको छ । समग्रमा हेटौंडा उपमहानगरपालिकाले कुल ६० करोड ५४ लाख ४३ हजार रुपैयाँ बजेट रकम खर्च गरेको छ । हालको अवधिमा अधिकांश क्षेत्रगत आयोजना तथा कार्यक्रमहरु सम्झौता भई कार्य सञ्चालनको क्रममा रहेको र खर्च भुक्तानी नभइसकेको हुँदा क्षेत्रगत खर्चमा हाल कमी देखिएपनि चालु आवको अन्त्यसम्ममा उल्लेखनीय प्रगति हुने अपेक्षा गरिएको उपमेयर लामाले बताउनुभएको छ ।
उपमहानगरपालिकाले आयतर्फ चालु आवका लागि अनुमानित आयको ५६ दशमलब ६० प्रतिशत आम्दानी ५ महिनामा नै गरेको छ । उपमेयर लामाद्वारा प्रस्तुत वक्तव्यमा संघीय सरकार समानीकरण, सशर्त अनुदानतर्फ ५२ करोड ८ लाख २० हजार रुपैयाँ, प्रदेश सरकार समानीकरण, सशर्त र समपूरक अनुदानतर्फ ११ करोड ९१ लाख ५५ हजार रुपैयाँ आम्दानी भएको जनाइएको छ । यस्तै, आन्तरिक ऋण प्राप्तितर्फ नगर विकासबाट ३ करोड ६० लाख रुपैयाँ, आन्तरिक स्रोत कर, राजश्व र शुल्कतर्फ ११ करोड ५० लाख ५ हजार रुपैयाँ तथा गत आवमा खर्च नभई जिम्मेवारी सरेको रकमसमेत गरी कुल १ अर्ब ५९ करोड ४ लाख २ हजार रुपैयाँ आम्दानी भएको उपमेयर लामाले जानकारी दिनुभयो ।
नगरसभामा चालु आवको बजेटसमेत संशोधित भएको छ । गत असार १५ गते सम्पन्न नगरसभाबाट चालु आवका लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार ९ सय १० रुपैयाँ बजेटमा झण्डै २५ करोड रुपैयाँ वृद्धि भएको छ । उपमेयर लामाले चालु आवको बजेटलाई वृद्धि गर्नुहुँदै संशोधित बजेट २ अर्ब ८५ करोड रुपैयाँ प्रस्ताव गर्नुभएको थियो ।
हरित नगरी हेटौंडालाई जीवन्त राख्न ‘सफा, हरियालीयुक्त, फूलैफूलको शहर हेटौंडा’ भन्ने सोचका साथ नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ तथा प्रदेश सरकारको ‘स्वस्थ, सुसंस्कृत र सुखी जनता, समाजवादउन्मुख समृद्ध प्रदेश’को राष्ट्रिय तथा प्रादेशिक आकांक्षा पूरा गर्ने अभियानप्रति उपमहानगरपालिका पूर्ण प्रतिबद्ध रहेको जनाइएको छ । उपमहानगरपालिकाको पूर्वाधार विकासतर्फ चालु आवमा स्वीकृत कार्यक्रमहरुमध्ये २०६ वटा योजनाहरु सम्झौता भई कार्यान्वयनमा रहेका छन् । जसअन्तर्गत् ५ महिनामा सडक पूर्वाधारतर्फ ५६ वटा र अन्यतर्फ १८ वटा योजना सम्पन्न भइसकेको उपमहानगरपालिकाले जनाएको छ । जसमा सडकतर्फ कुल ८ किमि सडक स्ल्याब ढलान निर्माण भएका छन् । १३२ वटा योजनाहरु हाल चालु अवस्थामा रहेको पनि जनाइएको छ ।
यसैगरी उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि तथा पशु, नदीजन्य क्षेत्र, सुशासन, फोहोरमैला व्यवस्थापन, विपद् व्यवस्थापन, आर्थिक सहयोगलगायतका विविध कार्यक्रमहरु पनि भएको नगरसभामा जानकारी दिइएको छ ।
खेलाडीसहित ८ जना सम्मानित
हेटौंडा उपमहानगरपालिकाको दशौं नगरसभामा हाल राष्ट्रिय फुटबल टिममा रहेका मकवानपुरका ३ जना खेलाडीसहित समाजिक क्षेत्रमा क्रियाशील ८ जना व्यक्तिलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय खेल जगतमा पहिचान बनाउन सफल हेटौंडाका खेलाडीहरु हेटौंडा–१० का अन्जन विष्ट, हेटौंडा–१४ का सुनिल बल र हेटौंडा–१८ का आयुष घलानलाई जनही ३५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । उनीहरुले माल्दिभ्समा आयोजित १३ औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर नेपाललाई ऐतिहासिक सफलता दिलाउ“दै दोस्रो स्थान प्राप्त गराउन सफल भएको भन्दै सम्मान गरिएको छ । तीनै जना खेलाडी हाल काठमाडौंमा जारी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा व्यस्त रहेकाले उनीहरुलाई पछि सम्मानपत्र प्रदान गरिने जनाइएको छ ।
यस्तै, पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेलाई पनि सम्मानपत्रसहित सम्मान गरिएको छ । यसैगरी आँखा उपचारको क्षेत्रमा नयाँ प्रविधिको विकास गरी दृष्टिविहीनहरुलाई दृष्टि प्रदान गर्ने, शल्यक्रियाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल डा. सन्दुक रुइतलाई सम्मान गरिएको छ । उहाँ आउन नपाएपछि नेपाल आ“खा कार्यक्रमका कार्यकारिणी सदस्य तथा हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठमार्फत् डा. रुइतको सम्मानपत्र पठाइएको छ भने संरक्षक श्रेष्ठलाई समेत सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा ललितकलाका माध्यमबाट आफ्नो विशिष्ट पहिचान बनाउन सफल हेटौंडा–१८ का मूर्तिकार लक्ष्मण भुजेल र हेटौंडा–७ मा आशा विशेष पाठशाला तथा पुनस्र्थापना केन्द्र सञ्चालन गरी बौद्धिक अपांगता संरक्षण र विकासका क्षेत्रमा काम गर्ने आइना वाका न्यौपानेलाई समेत सम्मान गरिएको छ । उहाँहरुलाई दोसल्ला, प्रमाणपत्रसहित सम्मान गरिएको छ । मेयर महत, उपमेयर लामा र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले सम्मान गर्नुभएको थियो ।
दुई वडा थप अनुदानसहित पुरस्कृत
नगरसभा बैठकले गत आव २०७७/०७८ को वित्तीय प्रगतिका आधारमा प्रथम र द्वितीय हुने दुई वडालाई थप अनुदान रकमसहित सम्मान गरेको छ । प्रथम हुने हेटौंडा–१९ लाई वडा कार्यालयले खर्च गर्न मिल्नेगरी २० लाख रुपैयाँसहित सम्मान गरेको छ । वडा अध्यक्ष नरनाथ सुवेदीलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको हो । त्यसैगरी द्वितीय हुन सफल हेटौंडा–९ लाई पनि १५ लाख रुपैयाँ थप अनुदानसहित सम्मान गरिएको छ । वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो ।
६ जना उत्कृष्ट कर्मचारी पुरस्कृत
बैठकमा उपमहानगरपालिकामा कार्यरत कर्मचारीमध्येमा ६ जना उत्कृष्ट कर्मचारी छनोट गरी नगदसहित पुरस्कृत गरिएको छ । उपमहानगरपालिकाका अधिकृत आठौं तहका मनोजकुमार सुवेदी, सातौं तहका रामकृष्ण थापा, सुबोध थापा, अधिकृत छैठौं तहका महेन्द्र चापागाईं, बरिष्ठ सहायक पाँचौं तहका केशबप्रसाद देवकोटा र हेल्थ असिस्टेन्ट मीना कुमारीलाई जनही ७५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो ।
१५ जनालाई नगदसहित सम्मान
कार्यक्रममा २ जना न्यायिक समितिका मेलमिलापकर्ता संयोजक, ३ नगरप्रहरी, ४ बारुण यन्त्र इकाई कर्मचारी र ६ जना सफाई कर्मचारीलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका मेलमिलापकर्ता संयोजक रामचन्द्र अर्याल, मेलमिलापकर्ता हटिया संयोजक सरस्वती पौडेललाई जनही २५ हजार नगदसहित सम्मान गरिएको हो । नगरप्रहरीतर्फ प्रहरी नायब निरीक्षक नेत्रप्रसाद ढकाल, प्रहरी हवल्दार अर्जुन सापकोटा, प्रहरी जवान निर्मला उदास श्रेष्ठ, बारुणयन्त्र इकाइतर्फ हवल्दार भक्तबहादुर मगर, सिपाही सोमलाल पुजारी, सिपाही भोजराज तिवारी र भारी सवारी चालक सज्जु लोप्चन तथा सफाई कर्मचारीहरु रामकृष्ण पोडे देउला, दुर्गा पोडे देउला, चुनमाया पोडे देउला, अन्जना पोडे देउला, गुणमाया पोडे देउला र मीना पोडे देउलालाई कर्तव्यनिष्ठ कर्मचारीका रुपमा जनही २५ हजार रुपैया“सहित सम्मान गरिएको छ ।
२५ कर्मचारीलाई दीर्घसेवा पदक
कार्यक्रममा २५ जना कर्मचारीहरुलाई दीर्घसेवा पदक कर्मचारी सम्मान प्रदान गरिएको छ । अधिकृत नवौं तहका भीमप्रसाद तिमल्सिना, आठौं तहका रोशन रिजाल, जगन्नाथ सापकोटा, भैरब कुमाल, छैठौं तहका अमोदप्रसाद मैनाली, सहायकस्तरका जयराम पुलामी मगर, बिनोद सुवेदी, हिमप्रसाद पौडेल, राजेन्द्रनाथ पोखरेल, सावित्री श्रेष्ठ, शिवध्वज गोदार, शोभाकान्त लम्साल, फणिन्द्र शर्मा, दुर्गा कार्कीलाई पदकसहित सम्मान गरिएको छ । यसैगरी सफाई कर्मचारीहरु सानुमैया देउला, गंगामाया पोडे, कान्छी पोडे, बालकुमारी पोडे, लक्ष्मी पोडे, आशुमाया पोडे, निर्मला पोडे, शारदामाया पोडे, सिनियर अहेब शेरबहादुर ब्लोन, भोलानाथ चौलागाईं र धनेश्वर साहलाई पनि दीर्घसेवा पदकसहित सम्मान गरिएको छ ।