Home मुख्य समाचार राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौंडाः राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय बिहीबार स्थापना गरिएको छ । बिहीबार बिहान हेटौंडा–५ स्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो ।

बागमती प्रदेशको निर्वाचन अधिकृतमा जिल्ला अदालत मकवानपुरको मुख्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठ नियुक्त हुनुभएको छ । राष्ट्रिय सभामा कार्यकाल सकिने १९ जना सदस्य मध्ये बागमती प्रदेशका २ जना छन् । एकजना महिला र एकजना खुलातर्फका सदस्य पदमा माघ १२ गते मतदान हुनेछ ।

निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेल, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङको पनि उपस्थिति रहेको थियो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका १०९ जना सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख गरी २३७ जनाले मतदान गर्नेछन् । राष्ट्रिय सभा सदस्य पदका लागि हुने निर्वाचनको मतदान केन्द्र हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको सभाकक्षलाई तोकिएको छ ।

Exit mobile version