नगर सभामा सहभागी नगर सभाका सदस्यहरु । फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको नगर परिषद्को दशौं बैठक आज बिहीबार बस्दैछ । बैठक बिहान ८ बजेबाट हुने उपमहानगरपालिकाले जनाएको छ । बैठकमा बजेट रकमान्तरका एजेन्डाहरु पेश हुने जनाइएको छ ।

मेयर हरि बहादुर महतका अनुसार जनप्रतिनिधी आएपछिको अन्तिम बैठक समेत भएकाले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट योजनामा परेर पहिलो ६ महिनासम्ममा पनि कार्यान्वयन हुन नसकेका बजेटहरुलाई कार्यबिधी बनाएर रकमान्तर गर्ने प्रस्ताव पेश हुने छ । हालका जनप्रतिनिधीको कार्यकालको अन्तिम वर्ष समेत रहेकाले फ्रिज हुन सक्ने बजेटहरु रकमान्तर गरेर अर्को योजनालाई प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीना कुमारी लामाले पुस १३ गते बोर्ड बैठकमा पेश भएका प्रस्तावहरुलाई नै नगर परिषद्को बैठकमा पेश गरिने र उसका लागि कार्यविधी बनाइने बताउनुभएको छ । बैठकमा आफु कुन रुपले प्रस्तुत हुने विषयमा छलफल भइरहेको उहाँको भनाई छ । हेटौंडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले हालसम्म उपमहानगरपालिकाले गरेको कार्यहरु सन्तोषजनक रहेकाले परिषद्को बैठकमा आफूले समर्थन जनाउने बताउनुभएको छ । बोर्ड बैठकमा समेत सबै मिलेर हस्ताक्षर गरिसकेको राजस्व, कर्मचारी नियमावली, कर्मचारी सम्मान तथा प्रोत्साहन लगायतका एजेन्डासहित बजेट रकमान्तरका विषयहरु पेश हुने भएकाले यसमा चित्त नबुझेको कुनै विषय नरहेको उहाँले बताउनुभयो ।

राजनितिक रुपमा मेयर महत र आफु फरक पार्टीको भएपनि विकास निर्माणको काममा सधै एकजुट हुने हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले बताउनुभएको छ । जसकारण परिषद्को बैठकमा आफ्नो कुनै असन्तुष्टि नरहेको उहाँले बताउनुभयो । बैठकमा विकास निर्माण कै कामका लागि कार्यान्वयन हुन नसकेको बजेटलाई रकमान्तर गरेर काम गर्ने मुख्य एजेन्डा रहेकाले यसमा आफ्नो पूर्ण समर्थन रहेको उहाँको भनाई छ । व्यक्तिगत रुपमा पनि मेयर महतले कुनै वडालाई पार्टीगत हिसाबले नछुट्याउनु भएको भन्नुहुँदै वडाध्यक्ष कोइरालाले रकमान्तर भएको बजेट पनि सबै वडालाई विकासको आवश्यकताका आधारमा वितरण हुने उहाँको भनाई छ ।