सञ्चार साक्षरता कक्षामा सहभागी विद्यार्थीहरु ।

हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा आमसञ्चार तथा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीले हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयमा विद्यार्थी माझ सञ्चार साक्षरता अभियान सुरु गरेका छन् । हेटौंडा नगरक्षेत्रका विद्यालयका ८, ९ र १० कक्षाका विद्यार्थीलाई सञ्चार माध्यमको विषयमा जानकारी गराउनुका साथै सन्चार माध्यमको प्रयोगका लागि प्रेरित गर्न अभियान सन्चालन गरिएको जनाएको छ ।

सोमबारबाट अभियान सुरु गरिएको विद्यार्थी रविना खड्काले जानकारी दिनुभयो । सोमबार हेटौंडा–१, चाइनाक्वार्टरस्थित अमर मावि र मंगलबार हेटौंडा–२ स्थित सिद्धार्थ माविका विद्यार्थीलाई सञ्चार माध्यमबारे जानकारी गराइएको छ । दुईवटा विद्यालयमा पुगेर विद्यार्थी भाइबहिनीहरुसँग अन्तरक्रिया गर्दै गर्दा थप सचेतना आवश्यक भएको ठहर गर्दै यो प्रक्रियालाई अभियानकै रुपमा निरन्तर सञ्चालन गर्ने योजना बनाइएको खड्काको भनाई छ ।

सञ्चार साक्षरता कक्षामा सञ्चालन गर्दै आमसञ्चार तथा पत्रकारिता विषयका विद्यार्थीहरु ।

दैनिकरुपमा विद्यालयहरुमा पुगेर विद्यार्थीलाई सञ्चार माध्यमको विषयमा अभिमुखीकरण गर्दा सञ्चार माध्यमको प्रयोगले विद्यार्थी समाजमा भइरहेको घटनाक्रमका बारेमा जानकार हुनुका साथै पठन संस्कृतिको विकास हुने अपेक्षा गरिएको मकवानपुर बहुमुखी क्याम्पसका आमसञ्चार तथा पत्रकारिता विषयका सहायक प्राध्यापक सुरेश श्रेष्ठले बताउनुभएको छ । औपचारिक शिक्षासँगै अनौपचारिक रुपमा पनि विद्यार्थीले सिक्ने वातावरण हुँदा विद्यार्थीको अध्ययन गर्ने बानीको विकास हुनुका साथै सिकाई समेत प्रभावकारी हुने श्रेष्ठको भनाइ छ ।

समाजलाई सचेत, सूचित गर्ने गरी सञ्चार माध्यमहरुले समाचार र विचार सम्प्रेषण गर्ने गरे पनि यसको प्रयोग बढाउनुपर्ने आवश्यकतालाई औँल्याएर सचेतना अभिवृद्धिका लागि साक्षरता कक्षा सञ्चालन गरिएको अर्का विद्यार्थी रामकृष्ण घोरासाइनी बताउनुहुन्छ । ‘दुईदिन दुईवटा विद्यालयमा पुगेर विद्यार्थी भाइबहिनीहरुसँग छलफल गर्दा अधिकांश विद्यार्थीको घरमा पत्रपत्रिका किनेर पढ्ने नगरिएको, रेडियो, टिभिमा पनि समाचार, विचार भन्दा पनि मनोरञ्जनका सामग्री मात्रै उपयोग गर्ने गरेको पाइयो’, घोरासाइनीले भन्नुभयो, ‘आम नागरिकले समाचार र विचारका लागि सञ्चार माध्यमको प्रयोग गर्ने अवस्था नहुनुले पनि हाम्रो समाज विकासको गति सही दिशामा अग्रसर हुन नसकेको हो कि भन्ने लागेको छ ।’

सञ्चार साक्षरता कक्षामा सञ्चालन गर्दै आमसञ्चार तथा पत्रकारिता विषयका विद्यार्थीहरु ।

स्नातक तह प्रथम वर्षमा सञ्चार साक्षरताबारे अध्ययन गर्नुपर्ने र सैद्धान्तिक अध्ययनसँगै सञ्चार साक्षरतासम्बन्धी क्रियाकलाप पनि गरिएको विद्यार्थी सरिता पुडासैनीको भनाई छ । आमसञ्चार तथा पत्रकारिता विषय अध्ययन गर्ने क्रममा सञ्चार माध्यमको प्रयोगले आफ्नो औपचारिक शिक्षाका साथै बाह्य ज्ञान पनि बढ्दै गएको महसुस भएसँगै आम रुपमा साक्षरताका लागि प्रयास गरिएको अर्की विद्यार्थी सुमिना चौलागाईले बताउनुभयो । विद्यालय तहका विद्यार्थीलाई आफैंले पढेको विषयबारे जानकारी गराउन पाउँदा खुसी लागेको भन्दै अर्का विद्यार्थी अनिल गोङ्वा भन्नुहुन्छ, ‘आफूले पढेर बुझेको कुरा अरुलाई बुझाउने क्रममा सुरुमा केही गाह्रो महसुस भए पनि हामी आफैंलाई पनि धेरै सीप र ज्ञान हासिल भएको छ ।’ स्नातक तहमा आएर पत्रकारिता पढ्दै गर्नुभएका विद्यार्थी रवि दाहालले सञ्चार साक्षरतालाई वृहत बनाउन स्नातक तह प्रथम वर्षका सवै विद्यार्थी एकजुट भएर लाग्ने बताउनुभएको छ ।