अवैध हतियारसहित पक्राउ परेका सनवर देवान ।

हेटौंडाः अवैध हतियारसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बारा जिल्लाको परवानीपुर गाउँपालिका–४ चैनपुरटोलका २४ वर्षीय सनवर देवानलाई बारा प्रहरीले पक्राउ गरेको हो ।

अवैध नलकटुवा बन्दुक बोकी हिँडेको भन्ने सूचनाका आधारमा आइतबार ५ बजेको समयमा इलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरी टोलीले देवानलाई बन्दुकसहित पक्राउ गरेको हो । देवानको साथबाट बन्दुकसँगै लागूऔषध नाइट्राभेट ८ ट्याबलेट पनि बरामद भएको प्रहरीले जनाएको छ । देवानलाई हातहतियार तथा लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।