हेटौंडाः मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको मिति अझै सर्ने भएको छ । जिल्ला लिगमा सहभागी हुने क्लबहरुले नाम दर्ता गराउने समय माग गरेकाले प्रतियोगिता मिति पुस १५ गतेसम्म सर्नसक्ने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले बताउनु भएको छ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको र तोकिएकै मितिमा प्रतियोगिता सञ्चालन गर्ने तयारी भएपनि विशेष कारणवश प्रतियोगिता सानुपर्ने देखिएको उहाँले बताउनुभयो । मंगलबार जिल्ला फुटबल संघका पदाधिकारीहरुको बैठक बसी प्रतियोगिता १० गते नै गर्ने कि १५ गतेलाई सार्ने भन्ने विषयमा निर्णय गर्ने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने क्लबहरुले प्यानमा दर्ता भएर कर चुक्ता गरेको हुनुपर्ने, अडिट रिपोर्ट पेश गर्नुपर्ने र क्लब नवीकरण गरेको हुुनुपर्ने नियम रहेकाले अधिकांश क्लबहरुको नवीकरण तथा अडिट रिपोर्ट तयार हुन बाँकी रहेकाले उक्त क्लबहरुका लागि केही दिनका लागि मिति सर्न सक्ने उहाँले जानकारी दिनुभएको छ ।
गत सिजन सहभागी भएका क्लबहरुमध्ये १५/१६ वटा क्लबहरु मकवानपुर जिल्ला खेलकुद विकास समितिमा दर्ता रहेकाले उक्त क्लबहरुको नवीकरण हुन ढिलाई भएपछि प्रतियोगिता मिति सार्न आवश्यक भएको अध्यक्ष लामाको भनाई छ । पहिला क्लबहरु खेलकुद विकास समितिमा दर्ता भएपनि अहिले ऐन परिवर्तन भएर क्लब दर्ता तथा नवीकरण प्रदेश सरकारले गर्ने कि जिल्लाले नै गर्ने भन्ने अन्यौलता रहेकाले क्लबहरुलाई अप्ठ्यारो परिरहेको उहाँले बताउनुभयो ।
क्लबहरुले पनि नवीकरण जिल्लाबाट नै हुनुपर्ने माग गरेको बताउनुहुँदै अध्यक्ष लामाले भन्नुभयो, ‘नेपालको कानुन दैवले जानुन्, अब क्लब कसले नवीकरण गर्ने हो ? न त जिल्लाले गर्न सक्छ, न त प्रदेशले नै । अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश सरकार हास्यास्पद बनिरहेको अनुभूति भएको छ ।’ यसअघि पनि सूचना प्रकाशित हुँदा पुस ५ गतेदेखि हुने भनिएपनि प्रतियोगिताको मिति पुस १० गतेलाई सरेको थियो । यदि पुनः प्रतियोगिताको मिति सरेपनि ५ दिन मात्र सर्ने र १५ गतेबाट जसरी पनि लिग सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
जिल्ला लिगलाई लिगकम नकआउट अथवा उत्कृष्ट आठलाई समेटेर राउन्ड रोबिनका आधारमा खेलाउने भन्ने विषयमा पनि निश्चित भएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्देशन कसरी प्रतियोगिता गराउने भन्ने छ त्यो बुझेरमात्र मंगलबारको बैठकपछि निर्णय गरिने अध्यक्ष लामाले बताउनुभएको छ । जिल्ला लिगमा उत्कृष्ट ८ मा परेका टिमहरु सिधै लिगमा र थप २ टिमलाई छनोटमार्फत् १० टिमको सहभागितामा लिग गराउने विषयले चर्चा पाएपनि क्लबहरुले त्यसअनुसारको तयारी गर्न नसकेका कारण यसपटक गत सिजन जसरी नै लिग खेलाउन अनुरोध गरिरहेको उहाँले बताउनुभयो ।
लिगकम नकआउटकै आधारमा प्रतियोगिता भएमा गत सिजन सहभागी भएका ३३ क्लबहरुले मात्र सहभागिता जनाउन मिल्ने उहाँको भनाई छ । यसपश्चात् उत्कृष्ट ८ मा आउन सफल भएका टिमहरुलाई अर्को सिजन सिधै लिगमा प्रवेश गराइने र बाँकी २ टिमको छनोटका लागि आगामी चैत महिनामा नयाँ इच्छुक टिमहरुको समेत सहभागितामा छनोट प्रतियोगिता हुने उहाँले बताउनुभयो । यदि अहिले नै उत्कृष्ट ८ टिम सहितको खेलप्रतियोगिता गराउन एन्फाको निर्देशन आएमा गत सिजनका उत्कृष्ट ८ लाई समेटेर अहिलेको प्रतियोगितामा इच्छुक नयाँ टिमलाई समेत सहभागी गराई २ टिम छनोट गरिने पनि अध्यक्ष लामाले बताउनुभएको छ ।
प्रतियोगितामा एक क्लबबाट एक टिममात्र सहभागी हुने पाउने भएका छन् । अध्यक्ष लामाले हाल जारी ए डिभिजन लिगको उदाहरण दिँदै भन्नुभयो, ‘ए डिभिजन लिगमा पनि कुनै क्लब ए बी सी नाम गरेको आउन मिल्दैन । त्यस्तै जिल्ला लिगमा पनि एउटा क्लबबाट एउटा टिममात्र सहभागी गराउने हो । त्यसकै लागि क्लबको अडिट रिपोर्ट मागिएको हो ।’ पहिला खेलकुदका क्लबहरु च्याउ जसरी रहेकोमा पछिल्लो समय त्यसलाई व्यवस्थित गराउनकै लागि दर्ता तथा नवीकरणको नियम ल्याइएको उहाँको भनाई छ । ‘पहिला हरेकजसो मान्छेको गोजीगोजीमा फुटबल क्लब हुन्थे, जसलाई मन लाग्यो त्यसले क्लब खोल्थे तर अब त्यसो होइन, क्लबहरुलाई व्यवस्थित गर्नुपर्छ भनेर दर्ता र नवीकरणको नियम बनाइएको हो’, अध्यक्ष लामाले भन्नुभयो ।
खेलकुदको विकास र सकारात्मक परिवर्तन गर्न चाहे १ वर्षमै गर्न सकिने, २२ वर्ष नलाग्ने उहाँको भनाई छ । पहिला खेलाडीहरुलाई प्रतियोगिता अवधिभर खेलाउने र सकिएपछि बेवास्ता गर्ने गर्नाले खेलाडीहरुको भविष्य नदेखिएको अवस्थामा अब खेलाडीहरुले खेलेरै आफ्नो जीविकोपार्जन गर्नसक्ने र स्थानीयस्तरमा भएका क्लबहरुले पनि खेलाडीहरुलाई केही पारिश्रमिक प्रदान गर्नसक्ने किसिमले फुटबलको विकास हुनुपर्ने लामाको धारणा रहेको छ । यसकै लागि क्लबहरुलाई खेलाडीप्रति जिम्मेवार बनाउन प्रतियोगितामा सहभागी हुने क्लबले पहिले नै खेलाडीहरुको बिमा गर्नुपर्ने नियम राखिएको पनि उहाँले बताउनुभएको छ ।
यस्तै, जिल्ला लिगमा अबका दिनमा जिल्लाभित्रकै खेलाडीमात्र सहभागी हुन पाउने, जिल्ला बाहिरका खेलाडीलाई कुनै क्लबले समावेश गर्न नपाउने तथा ए, बी र सी डिभिजन लिग तथा राष्ट्रिय खेलाडीसमेत जिल्ला लिगमा सहभागी हुन नमिल्ने अध्यक्ष लामाले बताउनुभएको छ । जसले गर्दा जिल्लाबाट थप नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने र मध्यमस्तरका खेलाडीहरुले पनि खेल्ने अवसर पाउने उहाँको भनाई छ । मकवानपुर फुटबलका खेलाडीको उर्वरभूमिकै रुपमा समेत रहेको छ । हाल जारी ए डिभिजन लिगमा मकवानपुरका २५ खेलाडीहरु बिभिन्न क्लबमा सहभागी रहँदा राष्ट्रिय टिममा समेत मकवानपुरका अन्जन विष्ट, सुनिल बल र आयुष घलानले खेलिरहेका छन् ।