हेटौंडाः आदिवासी जनजाति अगुवा पत्रकारलाई सम्मान/पुरस्कार प्रदान गर्न तथा तालिम संचालन र आपतकालिन सहयोग गर्न आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरले अक्षयकोष स्थापना गरिने भएको छ । फोनिज मकवानपुरको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले कोषमा सहयोग गर्न अनुरोध पनि गरेको छ ।

फोनिज मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकले मकवानपुरका आदिवासी जनजाति पत्रकारको विस्तृत तथ्यांक संकलन गर्ने निर्णय समेत गरेको छ । फोनिज मकवानपुरकी सचिव रुपा गुरुङ संयोजक तथा सहसचिव मनिता राना र सदस्य भुपेन्द्र राना मगर सदस्य रहेको उपसमिति गठन गरिएको छ ।

यस्तै, यही पुस २४ गते हुने फोनिज बागमती प्रदेश अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न फोनिज मकवानपुरले आवश्यक सबै सहयोग गर्ने निर्णय गरेको सचिव गुरुङले बताईन् । फोनिज मकवानपुरको वार्षिक कार्ययोजना बनाउन आदिवासी अगुवा, पत्रकार तथा फोनिजका उच्च नेतृत्वसँग समन्वय गर्ने निर्णय गरिएको उनले बताईन् ।

बैठकले फोनिज मकवानपुरको चौथो जिल्ला अधिवेशनबाट चयन भएको कृष्ण सारु मगर नेतृत्वको निवर्तमान कार्यसमिति र फोनिजको संघीय अनुशासन विभाग प्रमुख कुमार नेगीको संयोजकत्वको निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरेको छ ।