भीमफेदी-६, चिसापानी पुलमुनी भेटिएको गणेशलाल श्रेष्ठको शालिक । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको भीमफेदीमा शनिबार राति चोरी भएको लोककवि गणेशलाल श्रेष्ठको शालिक भेटिएको छ । भीमफेदी–६ स्थित चिसापानी पुल मुनी सोमबार दिनको ४ बजेर ४५ मिनेटको समयमा शालिक भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीले फेला पारेको शालिक इलाका प्रहरी कार्यालय भीमफेदीमा राखिएको छ ।

लोककवि श्रेष्ठको शालिक आइतबार अनावरण गर्ने कार्यक्रम तय गरिएको थियो । भीमफेदीमै जन्मेर लोककविको उपाधि पाउनुभएका गणेशलाल श्रेष्ठको सम्मानमा नागरिकस्तरबाटै भीमफेदी–६, भीमफेदी बजारस्थित ज्योति पुस्तकालय परिसरमा शालिक स्थापना गर्न लागिएको हो । लोककविको शालिक बरामद भए पनि प्रहरीले शालिक चोरीमा संलग्नलाई पहिचान गर्न सकेको छैन ।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले अनुसन्धान जारी रहेको बताउनुभएको छ । प्रहरीले घटनाको अनुसन्धान गरेर शालिक चोरीको घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउने प्रहरी उपरीक्षक गुरुङले स्पष्ट पार्नुभएको छ ।