हेटौंडाः ४७ लाखको लागतमा मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) पश्चिम क्षेत्र समितिको भवन निर्माण सम्पन्न भएको छ । कम्पाउन्ड र सभाहलसहित २ तले भवनको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले उद्घाटन गर्नुभएको हो । मनहरी बजार ड्याम नजिकै रहेको भवन संसद विकास कोषबाट २० लाख रुपैयाँ, मनहरी गाउँपालिकाको ५ लाख र अन्य दाताहरुको सहयोगबाट निर्माण गरिएको मउवासंघ पश्चिम क्षेत्र समिति मनहरीका अध्यक्ष नारायण सुवेदीले बताउनुभयो ।
समितिको भवनमा अझै १ तला उठाउन पिल्लर हालेर ढलान गर्ने तयारी भइरहेको छ । मउवासंघ पश्चिम क्षेत्र समितिका अध्यक्ष सुवेदीले आफ्नो स्वर्गीय पिताको सम्झनामा भवन बनाउन १० धुर जमिन प्रदान गर्नुभएको थियो । स्वर्गीय भक्तबहादुर सुवेदीको स्मृतिमा प्रदान गरिएको जमिनमा भवन निर्माण भएको हो ।
वि.सं २०६७ सालमा मकवानपुर उद्योग वाणिज्य संघको पश्चिम क्षेत्र समितिको उद्घाटन भएको थियो । त्यसपछि क्रमशः घरको कोठाबाट सुरु भएको समितिको आफ्नो भवन भने झण्डै ११ वर्षपछि निर्माण भएको हो । मकवानपुर उद्योग वाणिज्य संघको पश्चिम क्षेत्र समितिमा ४ सय व्यवसायी सदस्य छन् । समितिको भवनमा एक कर्मचारी रहने र व्यवसायीको कर तिर्नेलगायका कामहरु कार्यालयबाटै हुने अध्यक्ष सुवेदीको भनाई छ ।
मउवासंघ पश्चिम क्षेत्र समितिले समयसमयमा मनहरीमा औद्योगिक व्यापार मेला तथा महोत्सव गर्दै आएको छ । पछिल्लो पटक गरिएको महोत्सवबाट समितिले १० लाख रुपैयाँ बचाएको थियो ।