हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको चालु आर्थिक वर्ष सुरु भएपछि पाँचौं बोर्ड बैठक बसेको छ । मंसिर १६ गते बसेको बोर्ड बैठकले ३६ वटा प्रस्तावहरुमाथि निर्णय गरेको हो । निर्णयहरुमा हेटौंडा–४, हुप्रचौरमा रहेको बासुदेव सभागृह हटाएर बहुउद्देश्यीय भवन निर्माणदेखि लिएर जग्गा विकास कार्यक्रम सञ्चालनलगायत रहेका छन् ।
निर्णयहरुमा अधिकांश आर्थिक सहयोग, अनुदान, क्षतिपूर्ति, भुक्तानीलगायतका रकम निकासासम्बन्धी रहेका छन् । बैठकको प्रस्ताव नं. १६ को आर्थिक सहयोगसम्बन्धी ४ वटा शीर्षकमा विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई कुल २ लाख ७० हजार आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । जसमा हेटौंडा–४ का पूर्णप्रसाद बास्कोटालाई स्वास्थ्य उपचारका लागि वडाको बजेटबाट आर्थिक सहयोग २० हजार रुपैयाँ, सिस्नुपानी नेपाल मकवानपुरलाई देउसीभैलो कार्यक्रमका लागि आर्थिक सहयोग ४० हजार रुपैयाँ, नेपाल सम्बत नयाँ वर्ष समारोह समितिलाई वडा नं. १ को बजेटबाट आर्थिक सहयोग १० हजार रुपैयाँ तथा आविष्कारक खेमलाल श्रेष्ठको स्वचालित पानी प्रवाह व्यवस्थापन प्रणालीको अझै आधुनिकीकरण र व्यावसायीकरणका लागि २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ ।
यस्तै, प्रस्ताव नं. ८ र १७ मा पनि आर्थिक सहयोग तथा अनुदानका २÷२ वटा निर्णय गरी कुल १० लाख ७८ हजार रुपैयाँ निकासा गर्ने निर्णय स्वीकृत गरिएको छ । हेटौंडा–१०, कर्राका बच्चुराम पौडेललाई वडाको आर्थिक बजेटबाट ३० हजार रुपैयाँ र हुप्रचौरको रेखदेख गर्ने कान्छा खनाललाई मासिक ४ हजारका दरले एक वर्षको ४८ हजार रुपैयाँ प्रदान गर्न स्वीकृत गरिएको छ । भूटनदेवी मन्दिरको गजुरमा सुनको लेपन गर्न ५ लाख रुपैयाँ र वनस्पति अनुसन्धान हल निर्माणका लागि ५ लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।
प्रस्ताव नं. ७ मा क्षतिपूर्ति बापत ४ लाख ५४ हजार ४ सय ३९ रुपैयाँ ९३ पैसा उपमहानगरपालिकाले दिने उल्लेख छ । जसमा हेटौंडा–११ स्थित गणेशस्थान टोल जाने बाटोमा निर्माण भएको पर्खाल भारी वर्षाले पहिरो गई क्षति पुगेपछि प्राविधिक मूल्याङ्कनबमोजिम सोको क्षतिपूर्ति प्रदान गरिने जनाइएको छ । प्रस्ताव नं. ९ मा आर्थिक वर्ष २०७२/०७३ मा सञ्चालन भएको भिन्तुनापथमा ढल निर्माणको बजेट रकम १ लाख ५० हजार रुपैयाँ ६ वर्षपछि भुक्तानी गर्ने निर्णय भएको छ । यसैगरी प्रस्ताव नं. २३ मा नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीलाई यातायात र सञ्चार व्यवस्थापन खर्चबापत मासिक २० हजार रुपैयाँ दिने निर्णय भएको छ ।
प्रस्ताव नं. २५ मा नगरसभाको घोषणाबमोजिम आर्थिक वर्ष २०७७/०७८ मा उच्चतम वित्तीय प्रगति हासिल गर्ने वडा नं. १९ र वडा नं. ९ लाई क्रमशः २० लाख र १५ लाख रुपैयाँ पुरस्कार राशि प्रदान गर्नेसमेत निर्णय भएको छ । प्रस्ताव नं. ३४ को क र ख मा क्रमशः नगरप्रहरी, बारुणयन्त्र चालक÷सरसफाई कर्मचारीहरुका लागि अतिरिक्त काममा संलग्न हुनका लागि ट्रयाकसुट खरिद र ५ लाख १६ हजार ४ सय १० रुपैयाँबराबरको ह्युम पाइप खरिद गरिएका बिल रकम विपद् व्यवस्थापन कोषबाट भुक्तानी हुने निर्णय गरिएको छ । प्रस्ताव नं. ३३ मा हेटौंडा–१५, बंगेरीका ११ परिवारलाई खरको छाना हटाउन प्रतिपरिवार २० हजार रुपैयाँ बराबरको जस्तापाता उपलब्ध गराउने निर्णय भएको छ ।
यस्तै, प्रस्ताव नं. १८ मा कोभिड १९ का कारण लकडाउन भएको समयमा हेटौडा–१४ मा गरिब तथा विपन्न परिवारहरुलाई वितरण भएको राहत रकममध्ये भुक्तानी दिन बाँकी १ लाख ५० हजार रुपैयाँ विपद् व्यवस्थापन कोषबाट भुक्तानी दिने निर्णय भएको छ । साथै प्रस्ताव नं. १९ मा उपमहानगर/वडा स्तरीय योजना तथा कार्यक्रम कार्यान्वयन गर्दा गत आर्थिक वर्ष २०७७/०७८ मा भुक्तानीका लागि दायित्व सृजना भएको १० करोड ९७ लाख ४९ हजार २ सय ७० रुपैयाँ अपुग हुने रकम, विभिन्न महाशाखाबाट पेश भएको/हुने नयाँ योजना तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने थप ९ करोड ८६ लाख ९७ हजार ८ सय २० रुपैयाँसहित जम्मा २० करोड ८४ लाख ४८ हजार ९० रुपैयाँ नवौं नगरसभाले कार्यपालिकालाई खर्च गर्ने अधिकार प्रत्यायोजन गर्ने निर्णयअनुसार उपमहानगरपालिकाको नगद मौज्दातबाट रकम व्यवस्थापन गरी खर्च गर्नेसमेत निर्णय भएको छ ।
यसैगरी बैठकले पहिलो प्रस्तावको रुपमा बासुदेव सभागृह हटाएर बहुउद्देश्यीय भवन निर्माण गर्न लामा÷रसुवा÷बानियाँ जेभी हेटौंडा मकवानपुरसँग सम्झौता गर्ने, प्रस्ताव नं. २ मा शिक्षक स्वर्णिम अवकास योजना कार्यविधि, २०७८ र प्रारम्भीक बाल शिक्षा केन्द्र व्यवस्थापन कार्यबिधि, २०७८ स्वीकृत गर्ने, प्रस्ताव नं. ३ मा हेटौंडा उपमहानगरपालिका भएर बग्ने किसेडी नदी र राप्ती नदीमा नदीजन्य पदार्थ उत्खनन्सम्बन्धी आईईई स्वीकृत गर्ने, प्रस्ताव नं. ४ मा हेटौंडा–१५, १६, १७ र १८ मा रहेका विभिन्न खहरेहरुमा आईईई तर्जुमा गर्न ५ लाख रुपैयाँ बजेट व्यवस्था गर्ने निर्णय भएको छ ।
बैठकको प्रस्ताव नं. ५ मा उपमहानगरपालिकाको नीति तथा कार्यक्रमहरुको प्रभाव मूल्याङ्कन क्रियाकलापका लागि विनियोजित ३५ लाख रुपैयाँ बजेटलाई आवधिक योजना तर्जुमा गर्न २० लाख रुपैयाँ र नीति तथा कार्यक्रमहरुको प्रभाव मूल्याङ्कनका लागि १५ लाख रुपैयाँ बजेट बाँडफाँट गर्ने निर्णय भएको छ । प्रस्ताव नं. ६ मा शिक्षक दरबन्दी मिलान, प्रस्ताव नं. १० मा हेटौंडा–१४ मा खेलकुद मैदान निर्माण गर्ने कार्यका लागि ३ लाख रुपैयाँ भुक्तानी दिन बाँकी विवरणमा समावेश गर्ने, प्रस्ताव नं. ११ मा हेटौंडा–१९ की महिला वडा सदस्य शान्ति विश्वकर्मालाई स्थानीय जलस्रोत समितिको सदस्यमा मनोनयन गर्ने निर्णयसमेत भएको छ ।
प्रस्ताव नं. १२ मा कार्यपालिकाको कार्यालयमा अधिकृतस्तर छैटौं अभिलेख व्यवस्थापक पदमा कार्यरत सुजन तिमल्सिनालाई उपमहानगरपालिकाको कानुन अधिकृतको समेत जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकमा भएको छ । प्रस्ताव नं. १३ मा नगर विकास कोषबाट एकीकृत बस टर्मिनल योजनाका लागि प्राप्त हुने ऋण रकम जम्मा गर्ने प्रयोजनको लागि आन्तरिक ऋण प्राप्ति खाता सञ्चालन नभइसकेको अवस्थामा आन्तरिक राजस्व खातामा जम्मा हुनेगरी अन्य क्षेत्रको आयमा नौ करोड रुपैयाँ स्रोत मिलान गर्ने, प्रस्ताव नं. १४ मा विभिन्न वडा कार्यालयहरु, शाखा एवम् शहरी स्वास्थ्य केन्द्रहरु सञ्चालनका लागि घरभाडा सम्झौता गरी कार्यालय सञ्चालन गरिआएका घरभाडा १० प्रतिशत वृद्धि गर्ने, पिप्ले शहरी स्वास्थ्य केन्द्र, हेटौंडा ५ का लागि थप दुई कोठाको घरभाडा सम्झौता गर्ने निर्णय भएका छन् ।
प्रस्ताव नं. १५ मा हेटौंडा–१७ मा प्रहरी अस्पताल बनाउन कालीलेक सामुदायिक वन क्षेत्रमा जग्गा उपलब्ध गराउन सिफारिस गर्ने, जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र हेटौडा–२ लाई अस्पताल तथा प्रशोधन केन्द्र स्थापनाका लागि हेटौंडा–१४ मा ६ विगाह ऐलानी जग्गा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रस्ताव नं. २० मा हेटौंडा–१० मा निर्माणाधीन शवदाह मेशिन खरिद तथा जडानका लागि माघ मसान्तसम्म म्याद थप गर्ने, प्रस्ताव नं. २१ मा हेटौंडा–२ स्थित सिद्धार्थ माविमा कानुन विषयमा स्नातक तह अध्ययन गराउन उपमहानगरपालिकाले अभिभावकत्व ग्रहण गर्ने, प्रस्ताव नं. २२ मा चालु आर्थिक वर्षमा हेटौंडाको विभिन्न वडाहरुमा स्वीकृत वडास्तरीय योजना तथा कार्यक्रमहरुमध्ये संशोधनको लागि लेखिआएका योजना तथा कार्यक्रमहरु पेश भएबमोजिम संशोधन स्वीकृत गरी कार्यान्वयन गर्ने र यससम्बन्धी अनुमोदन प्रस्ताव आगामी नगरसभामा पेश गर्ने निर्णय भएको पनि उल्लेख छ ।
बोर्ड बैठकको प्रस्ताव नं. २४ मा हेटौंडा उपमहानगरपालिका कार्यालयबाट वडास्तरमा हुने सबै किसिमका कामकारबाही (योजना÷कार्यक्रम कार्यान्वयन र सेवा प्रवाह) सम्पन्न गर्दा सम्बन्धित वडाका अध्यक्षसँग समन्वय गर्ने, प्रस्ताव नं. २६ मा हेटौंडा–७ मा सडक कालोपत्रे गर्ने कार्यको लागि ५० लाख रुपैयाँ विनियोजन स्वीकृत भएकोमा टेण्डरमार्फत् कार्यक्रम कार्यान्वयन अघि बढाउने निर्णय छ । प्रस्ताव नं. २७ मा हेटौडा–१२ को प्रशासनिक भवन निर्माण कार्यको लागि ठेक्का सम्झौता भई निर्माण गर्ने क्रममा केही आइटमको कार्यहरु छुट हुन गएको र प्राविधिक लागत इस्टिमेट÷मूल्यांकनबमोजिम थप हुने रकम ९ लाख १३ हजार ६ सय २० रुपैयाँ १३ पैसा (१३.९९ प्रतिशत) भेरिएसन स्वीकृत गर्ने निर्णय गरिएको छ ।
प्रस्ताव नं. २८ मा सामाजिक सुरक्षा भत्ता लिन ग्रामीण क्षेत्रबाट बजारमा रहेको कृषि विकास बैंकमा आउनुपर्ने अवस्था रहेका कारण जेष्ठ नागरिक भत्ता लिन कठिनाई परेकाले सम्बन्धित वडामा रहेका नजिकका बैंकहरुमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण व्यवस्थाको लागि सम्बन्धित निकायमा बैंक परिवर्तनका लागि सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रस्ताव नं. २९ मा विभिन्न वडाका १३ जनाले दिएका सिफारिसका आधारमा उनीहरुको नाममा रहेको बाटो सार्वजनिक गर्ने, प्रस्ताव नं. ३ं मा बजारमा अव्यवस्थित रहेका ठेला व्यवसायीहरुलाई दर्ता प्रक्रियामा लागि व्यवस्थित गराउन प्रतिठेला मासिक ६ सय रुपैयाँ शुल्क लिने, प्रस्ताव नं. ३१ मा नदीजन्य उद्योगहरुको नवीकरण तथा दर्ता गराउने, प्रस्ताव नं. ३२ मा मापदण्डविपरित र राजस्व नतिरेका नदीजन्य पदार्थ ओसारपसार गर्ने सवारीहरु जफत गरी कार्यविधिबमोजिम कारवाही गर्ने निर्णय पनि बैठकमा भएको छ ।
यसैगरी प्रस्ताव नं. ३५ मा प्रदेश लोकसेवा आयोग हेटौडाबाट विभिन्न सेवा, समूह र पदका कर्मचारीहरु स्थायी पदपूर्तिका लागि माग पठाउन अनुरोध गरेकोमा उपमहानगरपालिकाको रिक्त रहेको दरबन्दीमा आवश्यकताअनुसार कर्मचारीहरु माग गरी पठाउने तथा अन्त्यमा प्रस्ताव नं. ३६ मा विभिन्न व्यक्तिहरुको जग्गा विकास कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णयसमेत बोर्ड बैठकले गरेको छ ।