बुद्धिपुराण लोकार्पण गर्नुहुँदै कार्यक्रमका अतिथिहरु ।

हेटौंडाः साहित्यकार राजकुमार लामिछानेको हास्यव्यङ्ग्य निबन्धसंग्रह बुद्विपुराण शुक्रबार लोकार्पण भएको छ । लामिछानेको २०७४ सालमा प्रकाशित ‘पुतलाको पावर’ हास्यव्यङ्ग्य निबन्ध संग्रहपछि दोस्रो हास्यव्यङ्ग्य निबन्धसंग्रह बुद्विपुराण शुक्रबार लोकार्पण भएको हो । सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा साहित्य संगम मकवानपुरको सभाहलमा बुद्धिपुराणको लोकार्पण गरेको हो ।

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्षसमेत रहनुभएका लामिछाने कानुन सेवाका कर्मचारी हुनुहुन्छ । प्रेमकुमारीलाई पत्रदेखि दरको रहर गरी २० वटा शिर्षकमा लेखकले समाजका स्थिति, वेथिति र विकृति माथि व्यङ्ग्य प्रहार गर्नुभएको छ । भैरव स्मृति सम्मान—२०७४ बाट सम्मानित लामिछाने गालीगलौज, अश्लीलता जस्ता दुर्गुणहरुबाट टाढा, वैयक्तिक कमीकमजोरीमाथि भन्दा प्रवृत्तिगत कमीकमजोरी माथि प्रहार गर्ने, हास्यव्यङ्ग्यमा प्रयोग गरिने विविध शिल्पहरुको प्रचुर प्रयोग भएका स्तरीय र रोचक पुस्तक रहेको साहित्यकार लक्ष्मण गाम्नागेको धारणा रहेको छ ।

यस्तै हास्यव्यङ्ग्य सबै साहित्यिक विधामा समाहित हुन सक्ने एउटा विशिष्ट शैली भएको साहित्यकार निमेष निखिलको धारणा रहेको छ । सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष मिनप्रसाद लामिछानेको सभाध्यक्षता तथा वरिष्ठ साहित्यकार आरसी रिजालको प्रमूख आतिथ्यमा पुस्तक लोकार्पण कार्यक्रम भएको थियो । रिजालले समाजका विकृति र बेथितिहरुमाथि व्यङ्ग्य गर्नुका साथै सामाजिक परिवर्तनमा यस पुस्तकको मागदर्शन रहेको बताउनुभयो । कार्यक्रममा साहित्यकारहरु ह्रग्रीव आचार्य, अनिता न्यौपाने, नवराज शर्मा, रमेशमोहन अधिकारी, सुवास खनाललगायत सहभागी हुनुहुन्थ्यो ।