बागमती प्रदेश सरकार ।

हेटौंडाः बागमती प्रदेश सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने भएको छ । केही दिनमै प्रदेशमा रिक्त रहेको मन्त्रालयमा मन्त्री नियुक्त गर्ने प्रदेश सरकारले जनाएको छ ।

बिहीबार बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहे पनि कांग्रेसको महाधिवेशनमा गठबन्धनको नेताहरु व्यस्त हुँदा सरकार विस्तार हुन सकेन । मकवानपुरको राक्सिराङका प्रदेश सांसद सन्तबहादुर प्रजालाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी थियो । तर अन्य दलहरुले आफ्नो मन्त्रीको लिस्ट नपठाउँदा नियुक्ति हुन सकेन ।

माओवादी बागमती प्रदेशको प्रमुख सचेतक बुद्धिमान माझीले भने को–को मन्त्री बन्ने पार्टीबाट टुंगो भइनसकेको बताउनुभयो । माओवादीको संसदीय दलको नेता र उपनेता नै सरकारमा हुनुहुन्छ । मन्त्रिपरिषद् विस्तार गर्नेबारे दलमा छलफल नभएको उहाँको भनाई छ । यस्तै, नेपाली कांग्रेसको शुक्रबारदेखि हुने १४ औं महाधिवेशनमा सबै नेतागणहरु काठमाडौंमा व्यस्त रहँदा मन्त्रिपरिषद् विस्तार हुन नसकेको स्रोतले बताएको छ । बागमती प्रदेशमा अहिले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेर पूर्णता दिने तयारी भएपनि सो हुन सकेन ।

गत कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका राजेन्द्र पाण्डेले पहिलो पटक २ मन्त्री समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल र भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल नियुक्त गरिएको थियो ।

दोस्रो पटकको मन्त्रिमण्डल विस्तार गर्दा आर्थिक मामिला तथा योजना मन्त्रालयमा शालिकराम जम्कट्टेल र सामाजिक विकास मन्त्रीमा कुमारी मुक्तान नियुक्त हुनुभएको थियो । बाँकी ६ जना मन्त्रीहरु र केही राज्यमन्त्रीहरु थपिने भएका हुन् । बामगती प्रदेश सरकारका प्रवक्ता कृष्ण खनालले मन्त्रिपरिषद्ले केही दिनमै पूर्णता पाउने बताउनुभएको छ ।