भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी अतिथिहरु ।

हेटौंडाः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा ५४ वटा उजुरीमाथि मात्रै विस्तृत अनुसन्धान गरेको छ । आयोगको कार्यालयमा प्राप्त भएका उजुरीमध्ये ५ सय १८ वटा उजुरी फस्र्योट गर्ने क्रममा ५४ वटा उजुरीमा मात्रै विस्तृत अनुसन्धान गर्न आवश्यक देखिएको आयोगका हेटौंडा कार्यालयका प्रमुख अर्जुनकुमार शर्माले जानकारी दिनुभएको छ ।

भ्रटाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बिहीबार हेटौंडामा आयोजित कार्यक्रममा कार्यालयको गतिविधिबारे जानकारी गराउनुहुँदै उजुरी फस्र्योट गर्ने क्रममा २ सय ७३ वटा उजुरी सिधै तामेलीमा राखिएका, ९९ वटा उजुरी एकीकरण गरिएको, ५७ वटा उजुरी सुझावसहित तामेलीमा राखिएको, १६ वटा उजुरी सम्बन्धित निकायमै पठाइएको शर्माले बताउनुभयो । आयोगमा बढीजसो स्थानीय तहको विषयमा उजुरी पर्ने गरेको बताइएको छ । कार्यक्रममा आयोजका उपसचिव विष्णुप्रसाद सापकोटाले सार्वजनिक निर्माण, नदिजन्य पदार्थ उत्खनन्, सेवा प्रवाह, कर्मचारी नियुक्ति, राजश्व अपचलनसम्बन्धी उजुरी बढी पर्ने गरेको जानकारी गराउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मकवानपुरका स्थानीय तहका प्रमुख/उपप्रमुख, हेटौंडाका वडा अध्यक्षको उपस्थिति रहेको थियो । आधारहिन उजुरी गर्नेलाई पनि आयोगले कारवाही गर्नुपर्नेमा जनप्रतिनिधिहरुले जोड दिएका थिए ।