प्रतिक्षा दुलाल (प्रशिक्षार्थी)
हेटौंडाः मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा आउँदो सोमबार निशूल्क आँखा शिविर हुने भएको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालले निशूल्क आँखा शिविरको आयोजना गर्न लागेको हो ।
कोरोना महामारीका कारण लामो समयदेखि शिविर हुन सकेको थिएन । कोरोना महामारीको प्रभाव कम भएसँगै निशूल्क आँखा शिविरको आयोजना गर्न सुरु गरिएको हेटौंडा सामुदायिक आँखा अस्पतालका डा. सुनिल थकालीले जानकारी दिनुभएको छ । शिविरमा पहिचान भएका मोतियाविन्दुका विरामीलाई अस्पतालले हेटौंडासम्म ल्याएर उपचार गरेर पठाउने गरेको छ । आँखा शिविर आयोजनाका लागि विभिन्न सामाजिक संघ, संस्थाले हेटौंडा सामुदायिक आँखा अस्पतालसँग सहकार्य गर्ने गरेको छ ।
आँखा अस्पतालमा दैनिक ३ सय भन्दा बढीले बहिरंग (ओपीडी) सेवा लिने गरेका छन् । आँखा अस्पतालले साताको तीनदिन शल्यक्रिया सेवा दिने गरेको छ भने सातामा औसत ५० जनाले शल्यक्रिया सेवा लिने गरेका छन् । स्वास्थ्य बीमामा सहभागीहरुको समेत उपचार हुने भएकोले सेवाग्राहीको संख्या बढ्दो क्रममा रहेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर श्रेष्ठले जानकारी दिनुभएको छ ।