बिहिबार भएको दोस्रो सेमिफाइनलमा बागमतीको बिरुद्ध बल अगाडी बढाउँदै हेटौंडाका खेलाडी ।

हेटौंडाः मकवानपुरमा जारी अन्तरपालिका जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा पहिलो पटक १ मिनेट पूरा नहुँदै गोल भएको छ । प्रतियोगिताअन्तर्गत् बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा हेटौंडा उपमहानगरपालिकाले खेल सुरु भएको ४६ सेकेण्डमा नै गोल गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा हेटौंडा–४, हुप्रचौरमा जारी प्रतियोगितामा बिहीबार हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाबीच भएको खेलमा बागमतीले बल चलाउने मौका पाएपनि हेटौंडाका खेलाडीले बागमतीका खेलाडीको खुट्टाबाट बल खोस्दै गोल गर्न सफल भएका हुन् । उक्त गोल हेटौंडाका विनोद घलानले गरेका थिए ।

योसँगै हेटौंडाले बागमती गाउँपालिकालाई ३–० गोलअन्तरले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बागमतीका खेलाडीहरु फिनिसङमा चुक्दै पाएको अवसर सदुपयोग गर्न नसक्दा हेटौंडाले जीत निकाल्न सफल भयो । खेलको दोस्रो हाफको ६४ औं मिनेटमा हेटौंडाकै विनोद घलानले दोस्रो गोल गरेपनि खेलमा विवाद सिर्जना भएको थियो । हेटौंडाले पाएको कर्नर प्रहारमा बागमतीका गोलकिपरले बल रोक्ने क्रममा विनोदको ढाडमा लाग्दै गोल भएपछि बागमतीका खेलाडी, प्रशिक्षक तथा समर्थकहरुले गोलले मान्यता पाउन नहुने भन्दै खेल नै रोकेर मैदानबाहिर निस्किएका थिए ।

गोलरक्षकले समाइसकेको बल हेटौंडाका खेलाडीले हानेर गोल भएको उनीहरुको भनाई रहेको थियो । तर खेलका रेफ्रीले उक्त समयमा बागमतीका खेलाडीले बललाई राम्ररी नियन्त्रणमा नलिएको अवस्थामा हेटौंडाका खेलाडी अगाडि बढ्दा उक्त बल उनको ढाडमा लागेर पोलमा ठोक्किँदै गोल भएको भन्दै मान्यता दिएका थिए । हेटौंडाका खेलाडी विनोदले गोलरक्षकलाई कुनै असर नगरेका कारण गोल दिइएको रेफ्रीले बताए । केही समय रोकिएको खेल फिफा रेफ्री कल्पना शर्मा, आयोजक र बागमतीका टिम म्यानेजर तथा प्रशिक्षकहरुको सल्लाहपछि पुनः सुचारु भएको थियो ।

खेलको इन्जुरी समयमा हेटौंडाका मनोज लामाले बागमतीका गोलरक्षकलाई बिट गर्दै गोल गरेपछि हेटौंडाले ३–० गोलको सानदार जीत हात पा¥यो । खेलको म्यान अफ दि म्याच भने बागमतीका बाबुराम माझी घोषित भए । उनलाई बागमती गाउँपालिका अध्यक्ष सर्केस घलानले म्यान अफ दि म्याचको ट्रफी प्रदान गर्नुभयो । अध्यक्ष घलानले खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेको भएपनि उनीहरुलाई बाहिरी खेलहरु खेलाउन कम भएको प्रतिक्रिया दिनुभयो ।

फाइनल प्रवेश गरेको हेटौंडाले थाहा नगरपालिकासँग उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएको छ । फाइनल भिडन्त २५ गते शनिबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी खेलाडीहरुबाट प्रदेश लिग प्रतियोगिताका लागि मकवानपुर जिल्लाको फुटबल टिमका लागि खेलाडीसमेत छनोट गर्ने जनाइएको छ ।