Home मुख्य समाचार गठबन्धन सरकारले राज्यको सबै निकायलाई ध्वस्त बनायोः सचिव योगेश भट्टराई

गठबन्धन सरकारले राज्यको सबै निकायलाई ध्वस्त बनायोः सचिव योगेश भट्टराई

हेटौंडाः नेकपा एमालेको सचिव योगेश भट्टराईले गठबन्धनको सरकारले राज्यको सबै निकायलाई ध्वस्त बनाएको बताउनुभएको छ । कार्यपालिका भागबन्डमा गएको भन्दै अहिलेको सरकारले संसदलाई बन्दक बनाउनुका साथै न्यायपालिकालाई नाङ्गेझार बनाएको बताउनुभयो । न्यायपालिकाको इज्जत र प्रतिष्ठालाई अहिलेको सरकारले गिराउने काम गरेकोमा सचिव भट्टराईले चिन्ता व्यक्त गर्नुभयो ।

बिहीबार हेटौंडामा प्रेस चौतारी मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले
एमाले छिटोभन्दा छिटो नयाँ जनादेशमा जान चाहेको बताउनुभएको हो । एमालेले जनादेश प्राप्त गरेर लोकतान्त्रीक स्थायीत्व निर्माण गर्ने उहाँको भनाई छ । इतिहास बोकेको कांग्रेस पार्टी भएपनि कांग्रेसको भविष्य नभएको भट्टराईले बताउनुभयो । एमालेको इतिहास पनि छ र लामो भविष्य भएको बताउँदै आउँदो चुनावमा एमाले र कांग्रेसबिच प्रतिस्पर्धा हुने बताउनुभयो । महाधिवेशन सम्पन्न गरिसकेकोले अब चुनाव केन्द्रित हुने बताउँदै ३ महिनासम्म देशभर पार्टी प्रवेशको लहर छाउने भट्टराईले बताउनुभयो ।

एमाले एक्लै चुनाव लड्ने बताउँदै निर्वाचनमा कांग्रेस पनि एक्लै चुनाव लड्ने भनिसकेको उहाँको भनाई छ । अहिलेको सरकारको गठबन्धन आउँदो राष्ट्रिय सभाको चुनावसम्म मात्र टिक्ने उहाँले दाबी गर्नुभयो ।
अहिलेको गठबन्धन कुनै सैद्धान्तिक र वैचारिक आधारमा नभएको भन्दै एमालेको रिस र आवेगमा बनेको टिप्पणी गर्नुभयो । उहाँले समाजवादी र माओवादीलाई कांगे्रससँग गठबन्धन आवश्यक भएको बताउँदै जुन पार्टीसँग विचार मिल्छ उनीहरु उतै मिल्ने जानकारी दिनुभयो । समाजवादीका नेताहरु यता आए एमालेले सम्मानजनक व्यवहार गर्ने पनि सचिव भट्टराईले बताउनुभयो ।

Exit mobile version