प्रतिक्षा दूलाल/सुप्रभा शर्मा (प्रशिक्षार्थी)
हेटौंडाः मकवानपुर जिल्लामा १ लाख ५० हजार ८ सय ९३ जना स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । स्वास्थ्य बीमावापत १९ करोड १४ लाख ७८ हजार रुपैयाँ आम्दानी भएको स्वास्थ्य बीमा कार्यक्रमको मकवानपुरस्थित कार्यालयले जनाएको छ । मकवानपुर जिल्लामा ४ जना दर्ता अधिकारी र १ सय २८ जना फिल्डका कर्मचारी कार्यरत छन् ।
हालसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सवैभन्दा बढी ८७ हजार ९ सय जना स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । मकवानपुरको मनहरी गाउँपालिकामा २१ हजार ८ सय ३२ जना, थाहा नगरपालिकामा ८ हजार ९ सय ४४ जना, मकवानपुरगढी गाउँपालिकामा ८ हजार ५ सय ६० जना, बकैया गाउँपालिकामा ७ हजार ७ सय ६२ जना बीमा कार्यक्रममा सहभागी भएका छन् । यस्तै राक्सिराङ गाउँपालिकामा ३ हजार ४ सय ७४ जना, ईन्द्रसरोवर गाउँपालिकामा २ हजार ७ सय ८४ जना, कैलाश गाउँपालिकामा २ हजार १ सय २ जना र बागमती गाउँपालिकामा १ हजार ५ सय ८३ जना स्वास्थ्य बीमा कार्यक्रममा सहभागी छन् ।
मकवानपुर जिल्लामा स्वास्थ्य बीमा गराउने व्यक्तिले सुरुको सेवा केन्द्रको रुपमा हेटौंडा अस्पताल, मनहरी अस्पताल, पालुङ अस्पताल, छतिवन अस्पताल, हेटौंडा सामुदायिक आँखा अस्पताल मध्ये एउटा छनोट गर्नुपर्ने छ । हेटौंडा–११, थानाभर्याङस्थित चुरेहिल अस्पतालमा भने सुरुको सेवा केन्द्रबाट रेफर भएर मात्रै सेवा लिन पाउनेछ । नेपाल सरकारले सञ्चालन गरेको बीमा कार्यक्रममा एउटा परिवारमा ५ जनासम्मका लागि प्रतिवर्ष ३ हजार ५ सय रुपैयाँ र ५ जना भन्दा बढी सदस्य भएको परिवारमा प्रतिसदस्य ५ सय रुपैयाँका दरले थप रकम लाग्ने व्यवस्था छ ।
स्वास्थ्य बीमा कार्यक्रम ल्याएर सरकारले स्वास्थ्य उपचारमा अस्पतालसम्म आउन सर्वसाधारणलाई आकर्षित गरे पनि स्वास्थ्य संस्थाको क्षमता विकासमा ध्यान नदिँदा भने सर्वसाधारण पीडित छन् । स्वास्थ्य बीमा कार्यक्रमकै कारण स्वास्थ्य संस्थामा सर्वसाधारणको उपस्थिति बढे पनि सर्वसाधारणको उपचारका लागि स्वास्थ्यकर्मी, अस्पतालको सैय्या, उपचारमा प्रयोग हुने उपकरणको विकास र विस्तारमा भने सरकारको ध्यान जान सकेको छैन ।