हेटौंडाः नेपाली कांग्रेसको यही मंसिर २४ गतेदेखि काठमाडौंमा १४ औं महाधिवेशन सुरु हुँदैछ । १४ औं महाधिवेशनमा कांग्रेस मकवानपुरकी नेतृ महालक्ष्मी उपाध्याय डिनाले केन्द्रीय सहमहामन्त्रीमा आफ्नो उम्मेदवारी दिने तयारी गर्नुभएको छ । शेरबहादुर देउवा प्यानलबाट आफ्नो उम्मेदवारी दिने तयारी भएको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएकी नेतृ डिना कांग्रेसको प्रखर र स्पष्ट वक्ताको रुपमा चिनिँदै आउनुभएको छ । उहाँले कांग्रेसलाई गतिशील बनाउन तथा एकताबद्ध भएर अघि बढाउन आफूले उम्मेदवारी दिने बताउनुभयो । पार्टीको आन्तरिक जिम्मेवारी लिएर कांग्रेसलाई आउँदो निर्वाचनमा पहिलो पार्टी बनाउन आफ्नो भूमिका रहने उहाँको भनाइ छ ।
मकवानपुर जिल्लाबाट महाधिवेशनमा केन्द्रीय सदस्यमा उमा दाहालले आफ्नो उम्मेदवारी दिने बुझिएको छ । मकवानपुर जिल्लाको दुई प्रतिनिधि क्षेत्रबाट २५/२५ जना गरी ५० जना महाधिवेशन प्रतिनिधि, २ जना क्षेत्रीय सभापति र केन्द्रीय सदस्य नेतृ डिनासहित ५३ जना काठमाडौंमा हुने १४ औं महाधिवेशनमा सहभागी हुने मकवानपुर पार्टी प्रवक्ता प्रदीप कोइरालाले बताउनुभयो ।
हेटौंडामा गत शनिबार भएको प्रदेश निर्वाचनको मतगणना जारी रहेकाले महाधिवेशनमा जान अन्य तयारी गर्न नभ्याइने भएको छ । कांग्रेसको महाधिवेशन उद्घाटनमा कार्यकर्ता स्वतःस्फूर्त जानसक्ने उहाँले बताउनुभयो । निर्वाचनको मतगणना बुधबारसम्म लाग्ने हुँदा अन्य तयारी गर्न नसकिएको उहाँको भनाई छ । कांग्रेसको १४ औं महाधिवेशन सकिएलगत्तै मकवानपुर जिल्ला अधिवेशन गर्ने तयारी रहेको छ । जिल्ला अधिवेशनका लागि विभिन्न पदहरुमा नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।