Home खेलकुद राजनको ह्याट्रिकमा थाहाको फराकिलो जीत

राजनको ह्याट्रिकमा थाहाको फराकिलो जीत

ह्याट्रिक गर्दै म्यान अफ दि म्याच बन्न सफल राजन गोलेलाई ट्रफि प्रदान गर्नुहुँदै मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा साथमा अन्य पदाधिकारीहरु ।

हेटौंडाः वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका राजन गोलेको ह्याट्रिक मद्दतमा थाहा नगरपालिकाले हेटौंडामा जारी अन्तरपालिका जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा फराकिलो जीत हात पारेको छ । सोमबार भएको दोस्रो खेलमा थाहाले मकवानपुरगढी गाउँपालिकालाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा हेटौंडा–४, हुप्रचौरमा जारी प्रथम संस्करणको प्रतियोगिताअन्तर्गत् सोमबार भएको खेलमा जीत हासिल गर्दै थाहा नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । थाहाको जीतमा वैकल्पिक खेलाडीको रुपमा पहिलो हाफको ३४ औं मिनेटमा मैदान प्रवेश गरेका राजनले खेलको दोस्रो हाफको ६४ औं मिनेटमा पहिलो गोल गरेका थिए भने इन्जुरी समयमा थप २ गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् । राजन प्रतियोगिताको पहिलो ह्याट्रिककर्ता समेत बनेका छन् । यस्तै थाहाका लागि अर्को एक गोल सन्देश बलले खेलको ६७ औं मिनेटमा गरेका थिए । राजन म्यान अफ दि म्याच घोषित भए ।

यस्तै, यसअघि भएको सोमबारको पहिलो खेलमा टाइब्रेकरमा जीत निकाल्दै बागमती गाउँपालिका पनि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा बागमतीले ईन्द्रसरोवर गाउँपालिकालाई टाइब्रेकरमा ३–१ गोलअन्तरले पराजित गरेको हो । निर्धारित ८० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलमा सुरुवाती अग्रता ईन्द्रसरोवरले लिए पनि बागमतीले खेलमा पुनरागमन गर्दै बराबरी गर्न सफल भएको थियो । खेलको पहिलो हाफको नवौं मिनेटमा नै ईन्द्रसरोवरले मिलन लामाको गोलबाट अग्रता बनाएको थियो । २० औं मिनेटमा बागमतीका कप्तान आकाश राना मगरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

२७ औं मिनेटमा नै ईन्द्रसरोवरका खेलाडी बिजय लामाले फ्रीकिकमार्फत् गोल गर्दै पुनः अग्रता बनाउन सफल भएका थिए । बिजयको फ्रीकिक प्रहार बागमतीका गोलरक्षकले ठम्याउन नसक्दा गोल हुन पुगेको थियो । खेलको दोस्रो हाफको इन्जुरी समयमा बागमतीका आकाशले दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएसँगै बागमती हारबाट जोगिएको हो । टाइब्रेकरमा ईन्द्रसरोवरका १ खेलाडीको प्रहार बाहिरिन पुग्दा २ खेलाडीको प्रहार बागमतीका गोलरक्षक उमेश पाख्रिनले उत्कृष्ट बचाउ गरेका थिए । खेलका म्यान अफ दि म्याच पनि बागमतीका गोलरक्षक पाख्रिन नै घोषित भए ।

प्रतियोगिताअन्तर्गत् मंगलबार क्वाटरफाइनलतर्फको एकमात्र खेल हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाबीच हुने आयोजकले जनाएको छ । दुबै टिमले प्रतियोगितामा दोस्रो खेल खेलिरहेका छन् । खेल तालिकाअनुसार यी दुई टिमले मात्र क्वाटरफाइनलका खेल खेल्नुपरेको छ । थाहा नगरपालिका, बागमती गाउँपालिकासँगै भीमफेदी गाउँपालिका भने पहिलो खेलमा जीत हात पार्दै सिधै सेमिफाइनल प्रवेश गरेका हुन् । बुधबार हुने सेमिफाइनलको पहिलो खेलमा भीमफेदी र थाहाबीच प्रतिस्पर्धा हुनेछ भने २३ गते हुने दोस्रो सेमिफाइनलमा बागमतीले हेटौंडा र बकैयाबीचको विजेता टिमको सामना गर्नेछ ।

Exit mobile version