Home मुख्य समाचार कांग्रेस बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्र बानियाँ विजयी

कांग्रेस बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्र बानियाँ विजयी

नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा निर्वाचित हुनुभएपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै ईन्द्रबहादुर बानियाँ ।

हेटौंडाः नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्र बानियाँ बिजयी हुनुभएको छ । आइतबार भएको दोस्रो चरणको मतदानमा देउवा पक्षका बानियाँले पौडेल पक्षका जगदिश्वर नरसिंह केसीलाई १ सय ५८ मतले पराजित गर्नुभएको हो । बानियाँले कुल खसेको २०२५ मत मध्ये १ हजार ८५ मत पाउनुभयो । यस्तै केसीले ९ सय २७ मत पाउनुभयो भने १३ मत बदर भएको थियो ।

बिहीबार हेटौंडामा सुरु भएको प्रदेश अधिवेशनमा शुक्रबारबाट निर्वाचनको प्रक्रिया सुरु भएको थियो । प्रदेश सभापतिमा देउवा पक्षका बानियाँ, पौडेल पक्षका केसी र सिटौला पक्षका भीमसेन दासबीच शनिबार पहिलो चरणको मतदान भएको थियो । सभापतिका आकांक्षी मध्ये कसैले पनि ५१ प्रतिशत भन्दाबढी मत ल्याउन नसक्दा आइतबार दोस्रो चरणको मतदान भएको हो ।

नेपाली कांग्रेसको आन्तरिक चुनाव जितेसँगै बागमती प्रदेश सांसद एवम् नवनिर्वाचित प्रदेश सभापति बानियाँले कांग्रेसलाई अझै चुनौती भएको बताउनुभयो । उहाँले अहिले कांग्रेसको यसले जित्यो उसले जित्यो भन्दा पनि यो आन्तरिक प्रतिस्पर्धा हो, जिम्मेवारीको कुरा हो । यसलाई सामान्य रुपमा लिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कांग्रेसलाई जनताको बीचमा जिताउनु चुनौती रहेको उहाँले बताउनुभयो । कम्युनिष्टहरुको भण्डाफोर गरेर जनतासामु जानुपर्ने भन्दै जनतामा छरेका भ्रमलाई कांग्रेसले अन्त्य गर्ने बानियाँले बताउनुभयो । ‘अहिले कसले जित्यो कसले हार्‍यो भन्ने कुरै छैन । सबैले जितेको हो । कांग्रेसले जितेको हो ।’ उहाँले भन्नुभयो ।

बानियाँले प्रदेश सभापतिमा विजयी भएपनि आफूलाई लगाएको माला र खादा बहिस्कार गर्नुभएको छ । उहाँले बागमती प्रदेशको १३ जिल्लामा जनताको सामु कांग्रेसलाई जिताएपछि मात्रै आफूले माला र खादा लगाउने घोषणा गर्नुभएको छ ।

बानियाँले कांग्रेसको नेता भिमसेन दास प्रधानप्रति सम्मान व्यक्त गर्नुभएको छ । कांग्रेसमा उहाँले आफूलाई समर्थन गरेर आफ्नो राजनैतिक छवी प्रस्तुत गरेको भन्दै धन्यवाद समेत दिनुभयो । यस्तै प्रधानले कांग्रेसलाई उर्जावान र गति दिन सक्ने व्यक्तिले जिम्मेवारी पाएको बताउनुभयो । उहाँले कांग्रेसलाई प्रदेशमा अब दु्रत गतिमा दौडाउन भूमिका खेल्न सुझाव दिनुभएको छ ।

बानियाँको यस्तो छ राजनीतिक इतिहास
नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा निर्वाचित इन्द्रबहादुर बानियाँ २०४४ सालदेखि राजनीतिमा प्रवेश गर्नुभएको हो । नेपाल विद्यार्थी संघ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै अगाडि बढेको बानियाँको राजनीति २०७३ सालमा कांग्रेस मकवानपुरका सभापति २०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्री, २०७४ सालमा मकवानपुर संघीय क्षेत्र २ को ‘ख’ बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित हुँदै कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता एवम् प्रमुख प्रतिपक्षीको भूमिकामा रहिसक्नुभएको छ । स्पष्ट वक्ताको रुपमा बानियाँलाई चिनिन्छ ।

Exit mobile version