हेटौंडाः बसामाडी जेसीजको आयोजनामा भएको लक्ष्मीमाया वज्राचार्य स्मृति जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधी हटिया स्पोर्टस एकेडेमीले जितेको छ । १९ औं संस्करणको प्रतियोगिताअन्तर्गत आइतबार भएको फाइनल खेलमा आमभन्ज्याङ युवा क्लबलाई पराजित गर्दै हटियाले उपाधी चुमेको हो ।
हेटौंडा–१७, हटियास्थित नेपालचौरमा जारी प्रतियोगितामा साविक उपविजेता समेत रहेको हटियाले आमभन्ज्याङलाई ३–१ को सेटमा पराजित ग¥यो । हटियाले २५–२३, २५–१६, १९–२५ र २५–१६ को सेटमा आमभन्ज्याङलाई पराजित गर्न सफल भयो । मकवानपुर जिल्ला भित्रका १० वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिम हटियाले ६५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता आमभन्ज्याङले ३० हजार रुपैयाँ प्राप्त गर्दै चित्त बुझाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी हटियाका राजकुमार राई र उत्कृष्ट लिफ्टर हटियाकै अनिल बल घोषित भए भने उत्कृष्ट स्पाइकर आमभन्ज्याङका सुरेन्द्र तामाङ चुनिए । प्रतियोगिताका संयोजक करण महत्राको सभाध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा बागमती प्रदेशका पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।