दलहरुमा नेतृत्व पुस्तान्तरणको बहस चर्को रुपमा भइरहँदा राप्रपामा भने सुरुवात नै भएको छ । दलहरुका महाधिवेशन चलिरहेका छन् । केही दलहरुले नेतृत्व चयन समेत गरेका छन् । तर राप्रपा बाहेकमा पुरानै नेतृत्व स्थापित भएका छन् । नेकपा एमालेमा केपी शर्मा ओलीको विकल्पमा कार्यकर्ताले अरुलाई देखेनन् भने माले विगत लामो समयदेखि सिपी मैनालीको एकल नेतृत्वमा सन्चालन हुँदै आएको छ । यस्तै नेकपा माओवादी केन्द्रको पनि अधिवेशन त हुँदैछ । तर त्यहाँ पनि प्रचण्डको विकल्पमा अन्य नेताहरुले खुट्टा टेक्ने आँट गर्ने अवस्था बनेको छैन । कांग्रेसको तल्लो तहमा अधिवशेन सम्पन्न भएका छन् । त्यहाँ केही युवा अनुहार देखिए पनि केन्द्रमा उनीहरुले अघिल्लो पुस्तालाई नै निर्वाचित गर्नुपर्ने अवस्था देखिँदै छ ।

दलहरुमा पुराना पुस्तालाई विस्थापित गर्ने र नेतृत्व हस्तान्तरणका लागि तयार नभइरहेको अवस्थामा राप्रपामा नयाँ अनुहारको नेतृत्व स्थापित भएको छ । यस घटनामा अन्य शक्तिको चलखेल छैन वा राजतन्त्रको भूत सवार हुँदैन भने राजेन्द्र लिङ्देनको विजयले युवा नेतृत्वको खोजी प्रमाणित गरिदिएको छ । कमल थालाले भनेजस्तो निर्मल निवासको गोटीका रुपमा युवाको आवरणमा लिङ्देनको उदय गराइएको हो भने फेरी दुर्भाग्य मान्नु पर्दछ । होइन युवा नेतृत्व वा नेतृत्व हस्तान्तरणको अभ्यासका रुपमा मात्र उनको विजय भएको हो भने नेपाली राजनीतिका लागि सकारात्मक पक्ष मान्न सकिन्छ । उनको विजयले राप्रपालाई पञ्चहरुको पार्टी भन्ने आरोपबाट पनि छुटकारा हुन सक्छ । किन कि लिङ्देन पञ्चायती सुख भोग कम गरेका भित्र पर्दछन् ।

राप्रपामा देखिएको परिवर्तनले अन्य दलका युवा प्रतिनिधिहरुले आफूलाई सक्षम सावित गर्ने मौका दिएको छ । अघिल्लो पुस्ताका लागि लम्पसार पर्ने युवा राजनीतिकर्मीहरुले चुनौती दिने हिम्मत राख्न जरुरी छ । राजकीय पद र पार्टी जिम्मेवारी फरक हुन् । शासन सत्तामा पुग्नलाई पुस्तान्तरण भन्दा पनि ज्ञान, सीप र अनुभव आवश्यक छ भने पार्टी जिम्मेवारीमा विचार सिद्धान्त र क्रियाशीलता आवश्यक हुन्छन् । राजकीय पदमा राज्य संयन्त्र सहयोगी रहन्छ भने पार्टीमा व्यक्ति आफ्नै क्षमताले मात्र अघि बढ्न सक्छ । त्यसैले अब युवाहरुले छाया मात्र बन्ने होइन कि छाया बनाउने क्षमता विकास र आँट गर्नु पर्छ ।

राप्रपामा भएको पुस्तान्तरणले निकट भविष्यमा नेपाली राजनीतिमा कुनै प्रभाव पर्ने छैन । तर ठूला दलका युवाहरुले चुनौतीका रुपमा लिन सक्छन् । अब कांग्रेसको महाधिवेशन हुँदै छ । तर महामन्त्रीको पदमा मात्र युवाले दावी गरेको देखिन्छ । त्यो भन्दा माथिल्लो पद पुरानो पुस्ताकै लागि छोडिदिएका छन् । नेतृत्वको सम्मान पद दिएर मात्र गर्ने हो वा आफूले जिम्मेवारी लिएर उनीहरुलाई सम्मान दिने हो ? नेपाली राजनीतिमा चमत्कारी युवा नेतृत्व छैन । समय र परिस्थितिले मानिसलाई नेतृत्वमा स्थापित गर्ने हो । तर के नेपालमा त्यस्तो समय नआएको हो वा युवाहरु अघिल्लो पुस्ता भन्दा अक्षम भएका हुन् ? दलका युवाहरुलाई पाटी भित्र अगुवाको भूमिकामा आम कार्यकर्ताले खोजी गर्न आवश्यक छ । दलको निर्वाचनमा कार्यकर्ताले गुट भन्दा माथि उठ्ने आँट गर्न सक्नु पर्दछ तब मात्र युवा नेतृत्व स्थापित हुने छ ।