निर्णायकलाई भलिबल दिएर प्रतियोेगिताको उद्घाटन गर्नुहुँदै बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ।

हेटौंडाः जेसीआई बसामाडीको आयोजनामा लक्ष्मीमाया वज्राचार्य स्मृति जिल्लास्तरीय रनिङसिल्ड भलिबल प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । १९ औं संस्करणको प्रतियोगिता हेटौंडा–१७, हटियास्थित नेपालचौरमा सुरु भएको हो । बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आग्रा स्पोर्ट्सले चिउरी बगैँचा युवा क्लबलाई सोझो सेटमा पराजित गरेको छ । बिहीबारकै दोश्रो खेलमा सोल्टु युवा क्लबलाई हेटौंडा–१७ ले सोझो सेटमा पराजित गरेको छ । १० वटा टिमको सहभागिता रहेको प्रतियोगितामा शुक्रबार पहिलो खेल साविक विजेता हेटौंडा १७ र उपविजेता हटिया स्पोर्ट्स बीच विहान ११ वजे हुनेछ ।

जेसीआई बसामाडीका अध्यक्ष गौतम केसीको अध्यक्षतामा भएको प्रतियोेगिताको उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, जेसीआई बसामाडीका निवर्तमान अध्यक्ष विवेक बजगाईको पनि उपस्थिति रहेको थियो । प्रतियोगिताको फाइनल खेल आगामी आइतबार हुनेछ ।