नमूना बालमैत्री कक्षाकोठामा रमाउँदै विद्यार्थी ।

हेटौंडाः मकवानपुरका ३ वटा पालिकामा नमूना बालमैत्री कक्षाकोठा निर्माणको कार्य भइरहेको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टनेशनलसँगको साझेदारीमा सामुदायिक विकास संस्था (सिडिओ) नेपालले मकवानपुरको बागमती, भीमफेदी र मनहरी गाउँपालिकाको १३ विद्यालयका ४० वटा विद्यालयमा नमूना बालमैत्री कक्षाकोठा निर्माण गर्न लागेको हो ।

लैंगिक रुपान्तरण तथा समावेशी शिक्षा परियोजनाअन्तर्गत सन् २०२१ को जुलाईदेखि २०२२ को जुनसम्ममा ३ वटा पालिकाका १३ वटा विद्यालयमा ४० वटा कक्षाकोठा बनाउन लागेको सिडिओ नेपालका कार्यकारी निर्देशक जंगबहादुर बिश्वकर्माले जानकारी दिनुभएको छ । बालमैत्री एवम् सहज र प्रभावकारी सिकाईको वातावरण निर्माण गर्ने गरी कक्षाकोठामा भित्तेलेखन, सुरक्षित र न्यानो भुइँ निर्माण, चकटी, कुसन राख्ने, पिउने पानीका लागि फिल्टर राख्ने, होचो डेस्क राखिने कार्यकारी निर्देशक बिश्वकर्माले बताउनुभएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकाको ५ वटा विद्यालयमा १५ वटा कक्षाकोठा, मनहरी गाउँपालिकाको ६ वटा विद्यालयका १७ वटा कक्षाकोठा र बागमती गाउँपालिकाको २ वटा विद्यालयका ८ कक्षाकोठालाई नमूना बालमैत्री कक्षाकोठा बनाइने बताइएको छ ।

४० मध्ये १४ वटा कक्षाकोठा तयार भइसकेको जानकारी गराउनुहुँदै सिडिओ नेपालका कार्यक्रम संयोजक अर्जुन खड्काले भन्नुभयो, ‘कक्षाकोठालाई बालमैत्री बनाइनुका साथै सुरक्षित समेत बनाइएको छ । कक्षाकोठाको सौहाद्र्ध र सुरक्षित वातावरणले बालबालिकाको सिकाई र व्यवहारमा पनि सकारात्मक परिवर्तन देखिनेछ ।’ विद्यालयका पूर्वप्राथमिक कक्षादेखि कक्षा ३ सम्मका कोठाहरुलाई बालमैत्री एवम् सुरक्षित बनाइएको छ । एउटा विद्यालयमा बढीमा ४ वटा कक्षाकोठालाई नमूना कक्षाकोठा बनाइएको छ ।

४० वटा कक्षाकोठा निर्माणका लागि ४४ लाख रुपैयाँ बजेट रहेको कार्यकारी निर्देशक बिश्वकर्माले जानकारी दिनुभएको छ । प्लान इन्टरनेशनलसँगको साझेदारीमा सिडियो नेपालले सन् २०१८ देखि सुरु गरे सन् २०२२ सम्म सम्पन्न गर्ने लैंगिक रुपान्तरण तथा समावेशी शिक्षा परियोजनाबाट गत बर्ष पनि १ सय १३ वटा कक्षाकोठा नमूना बालमैत्री कक्षाकोठा निर्माण गरिएको थियो ।

गत बर्ष मनहरी गाउँपालिकाको विभिन्न विद्यालयका ४८ कक्षाकोठा, राक्सिराङ गाउँपालिकाको विभिन्न विद्यालयका ३० वटा कक्षाकोठा, बागमती गाउँपालिकाको विभिन्न विद्यालयका २१ वटा कक्षाकोठा र बकैया गाउँपालिकाको विभिन्न विद्यालयका १४ कक्षाकोठालाई नमूना बालमैत्री कक्षाकोठा बनाइएको कार्यक्रम संयोजक खड्काले जानकारी दिनुभएको छ ।