सहयोग सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः नारी संरक्षण केन्द्रले ५० बालबालिकालाई शैक्षिक सामग्री तथा ब्ल्यांकेट वितरण गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय सहयोगी संस्था फ्रेण्डस अफ द उमन प्रोटेक्सन सेन्टर नेपालको आर्थिक सहयोगमा सुरक्षा तथा शिक्षा परियोजना अन्तर्गत बिहीबार हेटौंडा–४ स्थित संस्थाकै परिसरमा शैक्षिक सामग्री तथा न्यानो कपडा ब्ल्यांकेट सहयोग गरेको कार्यक्रम संयोजक राम मिजारले जानकारी दिनुभयो ।

सुरक्षा र शिक्षा परियोजनाअन्तर्गत नै शैक्षिक सहयोग प्राप्त गरिरहेका बालबालिकालाई दोस्रो चरणको सहयोग अन्तर्गत ६ महिनाको शूल्क, स्टेशनरी सामग्री र १ लाख १० हजार रुपैयाँको ५० थान ब्ल्यांकेट वितरण गरिएको मिजारले बताउनुभयो । प्रत्येक वर्ष ६÷६ महिनामा पदमपोखरी, बसामाडी, चुरियामाई, भिमफेदी, हर्नामाडीका कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका बालबालिकाको शैक्षिक जिम्मेवारी अन्तर्गत शैक्षिक सामग्री वितरण गरिँदै आइरहेको छ ।

नारी संरक्षण केन्द्रकी अध्यक्ष दीपा गुरुङको सभाध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख अतिथ्य रहेको थियो । मन्त्री मुक्तानले राज्यको दायित्व बालबालिकाको हकहित, अधिकार संरक्षण गर्नु रहेको बताउनुभयो । गैरसरकारी संघ, संस्थाले बालबालिकाको हकअधिकार संरक्षण तथा शैक्षिक जिम्मेवारी लिँदा राज्यलई टेवा पुगेको बताउनुभयो । कार्यक्रममा हेटौंडा वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल लगायत गैरसरकारी संघसंस्थाका प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।