हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजनामा मंसिर १८ गतेबाट सुरु हुन लागेको अन्तरपालिका जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको फुटबल टिम भिड्ने भएका छन् । मकवानपुरका १० वटै पालिकाको फुटबल टिमको सहभागितामा प्रतियोगिता हुन लागेको हो ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा हुने प्रतियोगिताका लागि बुधबार पत्रकार सम्मेलन गरी खेल तालिका सार्वजनिक गरिएको छ । आयोजकका अनुसार नकआउट प्रणालीमा हुने प्रतियोगिताको उद्घाटनको दिन एकमात्र खेल हुनेछ भने १९ र २० गते २/२ वटा खेल हुनेछन् । यसैगरी २१, २२ र २३ गते दोस्रो चरण र सेमिफाइनलका खेलहरु हुनेछन् भने २५ गते फाइनल खेल हुने जनाइएको छ ।

हेटौंडा–४ स्थित लोकतान्त्रिक (हुप्र) चौरमा आयोजना हुने प्रतियोगितामा कुल ९ खेल खेलाइनेछ भने प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः २ लाख र १ लाख रुपैयाँ प्राप्त गर्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा विधागत अन्य उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि कुल ७ लाख ५८ हजार ७ सय ५० रुपैयाँ लागत अनुमान गरिएकोमा जिल्ला समन्वय समिति मकवानपुरले ७ लाख प्रदान गर्ने तथा बाँकी रकम जिल्ला खेलकुद विकास समितिले व्यवस्थापन गर्ने मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाले बताउनुभयो ।

खेलकुद प्रतियोगितामा सहभागिता जनाउनका लागि मकवानपुरका सबै क्षेत्रका उत्कृष्ट खेलाडीहरुलाई छनोट गरी जिल्ला टिम तयार गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जिसस प्रमुख खुलालले बताउनुभयो । साथै यसबाट युवाहरुमा खेल भावनाको विकास हुने, स्वस्थ युवा जनशक्ति उत्पादनमा सहयोग मिल्ने तथा गाउँगाउँमा खेल गतिविधि विस्तार गर्न सहयोग मिल्ने उहाँको भनाई छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरु सम्बन्धित पालिकाभित्रकै हुनुपर्ने पनि आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको पनि उपस्थिति थियो ।