हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले बागमती प्रदेशका मुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्रीहरुलाई स्वागत गरेको छ । बुधबार बिहान संघको पल्पसा सदनमा स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरी मुख्यमन्त्री राजेन्द्र पाण्डेसहित मन्त्रीहरुलाई स्वागत गरेको हो ।
कार्यक्रमका मुख्यमन्त्री पाण्डेले हेटौंडा प्रदेश राजधानी नभएर औद्योगिक नगरी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । एउटै शहर राजधानी र औद्योगिक नगरी हुन नहुने बताउनुहुँदै उहाँले हेटौंडा शहर राजधानीका लागि नभई औद्योगिक क्षेत्रका लागि उपयुक्त भएको प्रष्ट पार्नुभयो । उहाँले भैंसे–भिमफेदी सुरुङमार्गको बारेमा बोल्नुहुँदै सुरुङमार्ग निर्माण गर्न प्रदेश सरकारले १ रुपैयाँ पनि दिन नसक्ने आवस्था रहेको बताउनुभएको छ । यदि कुनै निजी कम्पनीले आफ्नै खर्चमा सुरुङ बनाएर पछि कर उठाएर आफ्नो खर्च उठाउने हिम्मत गरेर आएमा प्रदेश सरकार सम्झौता गर्न तयार रहेको पनि उहाँले बताउनुभयो ।
यसअघिका सरकारले ४ वर्षसम्म बनाउन नसकेको १८ अर्ब लागत लाग्ने सुरुङ मार्ग आफ्नो सरकारले ५० करोड बजेटमा बनाउन नसक्ने भएकाले हाललाई स्थगित गरिएको पनि उहाँले बताउनुभयो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको सभाध्यक्षतामा भएको स्वागत कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनाललगायत संघका सल्लाहकारहरु, पूर्व अध्यक्षहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।