हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका स्थित भीमफेदी कारागारबाट चालु आर्थिक वर्षको हालसम्म १ सय ५८ जना कैदीहरु कारागारमुक्त भएका छन् । विभिन्न मुद्दामा सजाय काटिरहेका कैदीहरु कारागारमुक्त भएको भीमफेदी कारागारका सूचना अधिकारी केदार सापकोटाले बताउनुभयो ।
कारागारमा लागूऔषध मुद्दामा सजाय काटिरहेका ७० जना, जबरजस्ती करणी मुद्दाका १५ जना, चोरी मुद्दाका १२ जना, कर्तव्य ज्यान मुद्दाका १५ जना, ज्यान मार्ने उद्योग मुद्दाका ३ जना कैदीहरु कारागारमुक्त भएका हुन् । यस्तै अपरण मुद्दाका ४ जना, सवारी ज्यान मुद्दाका १५ जना, बहुविवाह मुद्दाका २ जना, आत्महत्या दुरत्साहन मुद्दाका ३ जनालगायत अन्य मुद्दाहरु गरी १ सय ५८ जना कैदी कारागारमुक्त भएका हुन् ।
कारागारमा आइतबारसम्ममा ९ सय ५८ जना कैदीहरुले सजाय काटिरहेको कारागारका सुचना अधिकारी सापकोटले जानकारी दिनुभयो । सजाय काटिरहेका सबैजना पुरुषहरु रहेका छन् । अहिले कारागारमा महिला कैदीहरुका लागि महिला गृह निर्माणको काम अन्तिम चरणमा पुगेको र अब केही समयमा नै सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो ।