हेटौंडाः चितवनमा शुक्रबार नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटन भएको छ । महाधिवेशनमा देशभरका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु धेरै संख्यामा चितवन पुगेका छन् । शुक्रबार पूर्वपश्चिम राजमार्ग हुँदै धेरै संख्यामा सवारी साधनहरुमा सवार भएर धेरै मानिसहरु चितवन पुगेका हुन् ।

एकैपटक यतिका धेरै सवारी साधन भित्रँदा चितवनमा त्यसको व्यवस्थापन गर्न मुस्किल हुनु स्वभाविक हो । छिमेकी जिल्ला चितवनमा ट्राफिक व्यवस्थापनका लागि मकवानपुरबाट समेत १८ जना ट्राफिक प्रहरीहरु पठाइएको छ । चितवनको ट्राफिक व्यवस्थापनको चिन्ता गरिरहँदा शुक्रबार मकवानपुरको हेटौंडामा नै ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे नै पर्‍यो । शुक्रबार बिहान ९ बजेदेखि ११ बजेसम्म पूर्वतर्फबाट आएका सवारी साधनहरुलाई व्यवस्थापन गर्न मकवानपुर ट्राफिकलाई निकै गाह्रो भएको प्रष्ट देख्न सकिन्थ्यो ।

शुक्रबार पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा हुँदै चितवनसम्म पूर्वका हजारौं संख्यामा सवारी साधनहरु चितवन पुगेका थिए । त्यतिखेर भने मकवानपुरमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । एक त मकवानपुरमा थोरै ट्राफिक जनशक्ति, त्यसमाथि पनि केही जनशक्ति चितवन पठाउनुपरेपछि जिल्लामा ट्राफिक व्यवस्थापन गर्न धेरै मुस्किल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा अहिले ३३ जना ट्राफिक प्रहरी कार्यरत छन् । १८ जना ट्राफिक प्रहरी चितवन पठाएपछि १५ जनाले मात्र जिल्लाको ट्राफिक व्यवस्थापन हेर्नुपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताउनुभयो । उहाँका अनुसार चितवनमा गएका १८ जना ट्राफिक प्रहरीहरु एमालेको महाधिवेशनभर त्यहीँ रहनेछन् ।

शुक्रबार हेटौंडामा सवारीको चाप यति बढ्यो कि, ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीहरुले सवारी साधनहरुलाई मुख्य बजार क्षेत्र अर्थात् बुद्धचोक भएर नै जान दिनुपर्ने अवस्था सिर्जना भयो । बिशेषतः लामो दुरीका पूर्वबाट पश्चिम जाने र ठूला सवारी साधनहरु बाइपास रोड हुँदै पठाउने गरिएको छ । मुख्य बजारमा सवारी चाप बढ्न नदिन नै यसो गरिँदै आएको छ । तर शुक्रबार बाइपासबाट मात्र पठाउन सक्ने सवारी साधनभन्दा अत्याधिक बढी सवारी साधन एकैपटक आउँदा बुद्धचोकबाट जान दिनुपर्ने अवस्था आएको ड्युटीमा खटिएका एक ट्राफिक प्रहरीले बताउनुभयो । उहाँले आफ्नो नाम नबताउने शर्तमा बिहानदेखि आफू एक्लै उक्त क्षेत्रको ट्राफिक व्यवस्थापनमा खटिरहँदा सवारी साधन व्यवस्थापन गर्न केही असहज भएको बताउनुभयो । हेटौंडामा सवारी चाप पनि यति बढेको थियो कि, हेटौंडाको बुद्धचोकदेखि हेटौंडा–१५ रातोमाटेसम्म मात्र अधिवेशनमा जाने साना तथा ठूला सवारी साधनहरुको जाम लागेको थियो ।

शुक्रबार प्रहरीले व्यवस्थापनका लागि केही समय नेकपा एमालेका महाधिवेशनको ब्यानर टँसेका गाडीहरुलाई मात्र पूर्वपश्चिम राजमार्गमा चल्न दिएर अन्य सवारीहरुलाई केही समयका लागि रोकेरसमेत राखेको थियो ।