प्रकाश खतिवडा

सन्दर्भः लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान

यस बर्षको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको मूल नारा ‘घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने रहेको छ । लैंगिक रुपमा समाजमा देखा परेका समस्यालाई केलाएर त्यसलाई अन्त्य गर्न यो अभियान बरदान सावित भएको छ । लैंगिक हिंसा विशेषगरी महिला हिंसा अन्त्य गर्न पुरुष वर्गको सार्थक सहभागिता अपरिहार्य रहेको छ । यसैलाई केन्द्रित गरेर हेर्ने हो भने “घरायसी तथा सामाजिक परिवेशमा शक्ति हत्याउने पुरुष तथा महिलाले जुनसुकै सामाजिक तथा आर्थिक स्तर, उमेर र जातिका महिलालाई मानसिक, शारीरिक र यौनिक कष्ट दिनु तथा उनिहरुको स्रोत र स्वतन्त्रतामा रोक लगाउनुलाई नै लैंगिकतामा आधारित हिंसा भनिन्छ ।” पुरुष वर्गलाई परिचालन गरी यस्तो हिंसा अन्त्य गर्न, अपाङ्गता भएकाको अधिकार स्थापित गर्न, यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार प्राप्तिका लागि मेन ईंगेज एलायन्स नेपाल क्रियाशील छ ।

महिलालाई राजनीतिमा पछाडि पारिएको छ । शैक्षिक अवस्था दयनीय रहेको पाईन्छ । आर्थिकरुपमा विपन्न छन् । पहुँचको अवस्था न्युन छ । महिला र पुरुषको समान कामको समान ज्याला दिइँदैन । लैंगिकतामा आधारित हिंसा मानवअधिकारको उल्लंघन तथा एक आपराधिक कार्य हो भन्ने सबैले बुझन जरुरी छ । यसले महिलाको समग्र विकास, सुरक्षा र सामाजिक जीवनमा गम्भीर असर पार्ने गरेको देख्न सकिन्छ । महिला हिंसा बिरुद्धको सचेतना बढ्नुको सट्टा महिलामाथि हुने भेदभाव र हिंसाले समाजमा व्यापकता पाइरहेको अवस्था छ । लैंगिकतामा आधारित हिंसाका लागि गरिबी, अशिक्षा, कुरीति, कुसंस्कार, पितृसत्तात्मक सोच, असमानता र सामाजिक न्यायको अभाव नै कारक तत्वको रुपमा रहेको पाईएको छ ।
जानी–नजानी हामी हाम्रो घरपरिवारमै पनि लैंगिक हिंसाको घटनाबाट मर्माहत हुन पुगिरहेका हुन्छौं । यो सबैमा परिरहेको समस्या हो अर्थात घरघरको कहानी हो भन्नुमा अत्युक्ती नहोला । उही कम र बेसी भन्ने मात्र हो भन्ने लाग्दछ । लैंगिकतामा आधारित हिंसाले महिलाको स्वास्थ्यमा गम्भिर असर पर्ने हुँदा यसको बिरुद्धमा सबै क्षेत्रका मानिसहरु खासगरी पुरुष वर्गको सहभागिता आवश्यक ठानिएको छ ।

हाम्रो समाजमा लैंगिक विभेद व्याप्त छ । यसको तितो अनुभुतिबाट हामी सबै प्रताडित छौं । यसका बिरुद्ध मेन इन्गेज एलायन्स, मानवअधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको सञ्जाल, नागरिक समाज सञ्जाल डेक नेपालका च्याम्पियनहरु क्रियाशील छन् । यसमा आबद्ध संस्थाहरु अस्मिता नेपाल, माईती नेपाल, बाल कल्याण समाज मकवानपुर, नारी सीप सृजना केन्द्र, ग्रामीण महिला सेवा केन्द्र, सेलर्ड, सिविन नेपाल, शान्ति फाउन्डेशन, जि.डब्लु.पि, नारी संरक्षण केन्द्र, इस्थर बेन्जामिन स्मृति संस्था, ईटिएससि नेपाल, साना हातहरु, हिम राईट्स, सुनिता फाउण्डेसन, फ्रेन्डस मकवानपुर, ब्लु डाईमण्ड सोसाईटी, दलित महिला संघ, मकवानपुर महिला समुह, नेपाल परिवार नियोजन संघ, शेयर एण्ड केयर, महिला तथा बालबालिका सेवा केन्द्र, युफिड नेपाल, युसेस, युवा सेवा समाज नेपाल, एकीकृत ग्रामीण सेवा समाज, स्वतन्त्रता अभियान नेपाल, युवालय, हामी दाजुभाई लगायतका संस्था क्रियाशील छन् ।

नेपालभित्र पनि लैंगिकतामा आधारित हिंसा अन्त्यका लागि कानुनी प्रावधान छ । नेपालको संविधान २०७२ को धारा ३८ महिलाको अधिकारमा भएको व्यवस्था र घरेलु हिंसा (कसुर तथा सजाय) ऐन २०६६ मा भएको कानुनी व्यवस्था राम्रो छ तर कार्यान्वयनको पक्ष फितलो छ । यस बमोजिम के–के भए र कतिले न्याय पाए भन्ने सवालमा कार्यान्वयन पक्ष त्यति सन्तोषजनक पाइँदैन । यसो हुनुमा हाम्रो क्रियाशीलताको पक्ष र पुरुष वर्गलाई कत्तिको सार्थक सहभागिता गर्न सकियो भन्ने पनि रहन्छ ।

लैंगिकतामा आधारित हिंसा अन्त्यका लागि मेन इन्गेज एलायन्स सन् २००७ मा गठन भएको हो । लैंगिक हिंसा अन्त्य, लैंगिक समानता स्थापना तथा समाजमा विद्यामान नकारात्मक पुरुषत्वको रुपान्तरणमा भुमिका खेल्ने ध्येयका साथ क्रियाशील व्यक्ति तथा संगठनहरुको साझा सञ्जाल हो । यसको गठन भएपछि विभिन्न महिला हिंसा बिरुद्ध क्रियाशील पुरुष र युवा लगायतका व्यक्ति र संस्थाहरु एकीकृत भई महिला हिंसा बिरुद्धको अभियानमा एकजुट हुन सकेका छन् । सेतो रिबन अभियान, महिला हिंसा बिरुद्धको १६ दिने अभियान जस्ता लैंगिक हिंसा बिरुद्धको अभियानमा महिलासँगै पुरुष तथा युवाहरु हातेमालो गर्ने क्रम बढिरहेको छ । पुरुष तथा युवालाई हिंसा बिरुद्ध उभ्याउन तथा उनिहरुको सकारात्मक भूमिका अभिबृद्धि गराउन यो सञ्जाल उपलब्धिमुलक देखिएको छ । सन् २०१० लाई महिला हिंसा बिरुद्धको हिंसा अन्त्यको बर्ष घोषणा गर्ने नेपाल सरकारको निर्णयका लागि पनि यो एलायन्सले महत्वपूर्ण भूमिका निर्बाह गरेको थियो । नेपाल सरकारको लैंगिक हिंसा अन्त्य सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई सफल बनाउन एलायन्सले महत्वपुर्ण कार्यहरु गर्दै पनि आइरहेको छ ।

एलायन्सले महिला तथा किशोरीहरु बिरुद्धको हिंसा अन्त्य गर्ने, यौनिक अल्पसंख्यकका अधिकारका लागि वकालत गर्ने, पुरुष तथा युवाको बीचमा हुने हिंसा न्युनीकरण, बाल यौनशोषण, यौन दुव्र्यबहार, तथा मानव बेचबिखनको रोकथाम र नियन्त्रण गर्ने, लैंगिक हिंसालाई प्रश्रय दिने नीतिहरु परिवर्तन गर्ने, मातृ तथा बाल स्वास्थ्मा बाबु तथा हेरचाहकर्ताको रुपमा पुरुषको सकारात्मक भूमिकाको प्रबद्र्धन गर्ने जस्ता कार्यहरु मेन इन्गेज एलायन्सले गर्ने गरेको छ । यो संस्थालाई सबैको समन्वय र सहयोगको खाँचो रहेको छ । एलायन्सले विभिन्न तह र तप्कामा रहेका पुरुष तथा युवालाई महिलाहिंसा बिरुद्धको अभियानमा क्रियाशील हुन आग्रह समेत गरेको पाईन्छ । मकवानपुरको हकमा मानवअधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको सञ्जालमा महिला र पुरुषको संयुक्त प्रयासले महिला हिंसा बिरुद्धको अभियान संचालन र अन्य महिला हिंसा न्युनिकरण गर्ने सवालमा क्रियाशील रहेको पाईन्छ ।

महिला हिंसाबिरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा हामी मेन इन्गेज एलायन्स निम्न सन्देश दिन चाहन्छौंः
१) लैंगिकताको आधारमा गरिने हिंसा अमानवीय तथा दण्डनीय अपराध हो ।
२) लैंगिक हिंसा बिरुद्धको कानुनको प्रभावकारी कार्यान्वयनका लागि पुरुष तथा युवाको सकारात्मक भूमिका अपरिहार्य हुन्छ ।
३) लैंगिक हिंसाको घटना भए गरेको थाहा भएमा त्यस बारेमा सम्बन्धित निकायमा यथासक्य छिटो उजुरी गर्नु वा उजुरी गर्न पीडितलाई आवश्यक सहयोग पु¥याउनु प्रत्येक व्यक्तिको कर्तव्य हो ।
४) लैंगिक हिंसाका घटनामा संलग्नलाई फौजदारी जवाफदेहिताबाट उम्काउने प्रयास गर्नु वा पीडितलाई न्याय खोज्नबाट हतोत्साहित गर्नु आफैंमा गैरकानुनी कार्य हो, सो गर्न गराउन हुँदैन ।
५) लैंगिक हिंसा अन्त्यका लागि कानुन हुनु मात्रै पर्याप्त हुँदैन, अन्य चेतनामुलक सामाजिक अभियान पनि सँगसँगै लानु पर्दछ ।

काम गर्दा यदाकदा तितो अनुभुति पनि रहेको छ । अपाङ्गता भएकाको अधिकारको बारेमा सघन रुपमा कुरा उठन नसक्नु, यौनिक तथा लैंगिक अल्पसंख्यकका पीडाउपर खासै बहस हुननसक्नु, विशेषगरी महिला हिंसा बिरुद्धको कुराकानी १६ दिन मात्र गर्ने तर अरु बेला खासै कुरा नउठने, महिनावारी स्वच्छता व्यवस्थापन प्रभावकारीरुपमा हुन नसक्नु जस्ता घटनाले सकारात्मक सामाजिक रुपान्तरण ढिलो हुने गरेको अनुभुति भएको छ । महिला हिंसा अन्त्यका लागि र सामाजिक रुपान्तरणका लागि कानुन मात्रै अचुक औषधि होईन । यसमा सामाजिक रुपान्तरणको खाँचो छ । त्यसैले लैंगिक हिंसा अन्त्यका लागि वर्तमान कानुनको बारेमा सचेतना जगाउँदै पुरुष र युवाको भूमिकामा उल्लेख्य बृद्धि गर्नुपर्ने हुन्छ । पुरुष वर्गलाई परिवर्तनको संवाहक बनाउँदै आफू पनि हिंसा नगर्ने र अरुलाई पनि हिंसा गर्न रोक्ने अभियानमा क्रियाशील बनाउनु पर्ने आजको टडकारो आवश्यकताको महशुस गरिएको छ । यसका लागि बागमति प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, जिल्ला समन्वय समिति, स्थानीय पालिकाहरुले पुरुष वर्गलाई जिम्मेबार बनाउने कार्यलाई तिब्रता दिने बेला आएको छ । पुरुष वर्गको सार्थक सहभागिता, समन्वय र सहकार्यबाट लैंगिक हिंसा अन्त्य गर्न सकिन्छ । आउनुहोस्, टोल–टोल, बस्ती–बस्ती र गाउँघरमा यस बारेमा चर्चा गरौं र लैंगिक हिंसा अन्त्य गर्न सहभागी बनौं ।

(खतिवडा मेन इंगेज एलायन्स नेपाल मकवानपुरका संयोजक हुनुहुन्छ ।)

Facebook Notice for EU! You need to login to view and post FB Comments!