हेटौंडाः कमाने युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै नर्मल मुस्कान फुटबल क्लबले हेटौंडा–८ कमानेमा भएको सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाली कांग्रेस मकवानपुरकी नेतृ स्वर्गीय चित्रकुमारी गुरुङको स्मृतिमा आयोजित प्रतियोगिताको बुधबार भएको फाइनल खेलमा नर्मल मुस्कानले युनाइटेडलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो ।
उपाधिसँगै नर्मल मुस्कानले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने युनाइटेडले उपविजेतामा चित्त बुझाउँदै १५ हजार रुपैयाँ प्राप्त गरेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुर र देवनगर टोल विकास संस्था, हेटौंडा–८ को संयुक्त आयोजनामा मंसिर १ गतेबाट १२ टिमको सहभागितामा प्रतियोगिता भएको थियो । नेपाली कांग्रेस हेटौंडा–८ नम्बर वडा सभापति भुपेन्द्र कोइरालाको सभाध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्य रहेको थियो ।
समापन कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका अध्यक्ष सविन भट्टाचार्य, नेपाली कांग्रेस मकवानपुरका सदस्य प्रदीप कोइराला, कांग्रेस प्रतिनिधिसभा १ नम्बर क्षेत्र प्रदेशसभा ‘ख’का सभापति एवम् हेटौंडा–५ का वडाध्यक्ष राजेश बानियाँ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, नेपाली कांग्रेस हेटौंडा नगरका पूर्वसभापति आनन्दराम पराजुली, नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका सचिव प्रदिप कँडेललगायतको उपस्थिति रहेको थियो ।