हेटौंडाः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का आंगिक शिक्षण संस्थामा एकसय बेडका प्रादेशिक अस्पतालको समन्वयमा पठनपाठन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिइसकेको छ । आफ्नै सय बेडको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसके पनि हेटौंडाको नारायणी नर्सिङ कलेजमा भने सय सैयाका अस्पताल अझै निर्माण हुन सकेको छैन ।
आफ्नै शिक्षण संस्थाका विद्यार्थीहरुलाई सय सैयाको अस्पताल निर्माण गरी विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउनुपर्नेमा बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा भने अझै अस्पताल निर्माण हुन सकेको छैन । अस्पताल निर्माणका लागि जग्गा खरिद भइसकेको र अब छिट्टै निर्माणको कार्य सुरु गर्ने नारायणी नर्सिङ कलेजका प्रधानाध्यापक रत्न गुरागाईंले जानकारी दिनुभयो ।
८० जना पुराना विद्यार्थी रहेको कलेजमा अहिले विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि हेटौंडा अस्पतालसँग समन्वय गरी विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास गराइरहेको गुरागाईंले बताउनुभयो । हाल नयाँ विद्यार्थी भर्नाका लागि भर्ना नखुलेकाले भर्ना खुलेपछि नयाँ विद्यार्थीको प्रयोगात्मक अभ्यास गराउने बेलासम्ममा अस्पताल निर्माण गरी प्रयोगात्मक अभ्यास आफ्नै अस्पतालबाट गराइने उहाँले जानकारी दिनुुभयो ।