हेटौंडा–४, कान्तिराजपथस्थित कुमारी बैंकको शाखा अगाडि धर्ना दिँदै भ्यालुयर्स एसोसिएसनका पदाधिकारीहरु ।

हेटौंडाः बैंकबाट धितो लिने प्रायोजनका लागि घरजग्गा मुल्याङ्कन कार्य गर्ने मुल्याङ्कनकर्ता इन्जिनियरलाई पक्राउ गरेको भन्दै नेपाल भ्यालुयर्स एसोसियसन मकवानपुरमा आवद्ध ईन्जिनियरहरुले हेटौंडा–४ कान्तिराजपथस्थित कुमारी बैंकको हेटौंडा शाखा अगाडि धर्ना दिएका छन् ।

नेपाल भ्यालुयर्स एसोसियसन बीरगन्जका सदस्य समेत रहेका मुल्याङ्कनकर्ता इन्जिनियर राजेश कुमार चौरसियालाई पक्राउ गरेर राखेको विषयमा देशव्यापी रुपमा भएको कार्यक्रम अन्तर्गत बैंकको हेटौंडा शाखा अगाडि पनि कालो व्यानरसहित धर्ना दिइएको हो । बैंक तथा संस्थाद्वारा बारम्बार हुने अमानवीय व्यवहार बिरुद्ध बिरोधस्वरुप धर्ना कार्यक्रम आयोजना गरिएको भ्यालुयर्स एसोसिएसनको भनाइ छ । आइतबार बिहान १० बजेदेखि कुमारी बैंक अगाडि धर्ना दिएको थियो ।

नेपाल भ्यालुयर्स एसोसिएसन मकवानपुरका सचिव अनिल बनियाँले बैकले उपलब्ध गराएको कागजातका आधारमा मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरेको साथै मुल्याङ्कन गरिएको धितोबन्धकी ऋण तिरेर फुकुवासमेत भइसकेको अवस्थामा पनि मुल्याङ्कनकर्तालाई पक्राउ गरेर राखिराख्नु र बारम्बार छाड्नका लागि आग्रह गर्दा पनि नछाड्नुमा केही षड्यन्त्र लुकेको हुनसक्ने बताउनुभएको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले चौरसियालाई गत कार्तिक २२ गते पक्राउ गरी हिरासतमा राखेको छ । धर्ना दिँदै नेपाल भ्यालुयर्स एसोसिएसन मकवानपुरका सदस्यहरुले चौरसियालाई निशर्त तुरुन्त रिहा गर्न माग गरेको छ ।