हेटौंडाः नेपाल पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । राजनीतिक दलका विभिन्न तहका चुनावमा पदाधिकारी तथा प्रतिनिधि भएकोप्रति नागरिक तहबाट आलोचना तथा टीकाटिप्पणी भइरहेकोले महासंघ केन्द्रीय समितिले गम्भीर रूपमा लिएको जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघको विधान २०६० ले प्रष्ट रूपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन भन्ने कुरा व्यवस्था गरेको उल्लेख गर्दै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्ने महासंघले चेतावनी समेत दिएको छ ।

कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने कुरा पत्रकारिताको विश्वव्यापी मान्यताभित्रको कुरा अहिले स्मरणीय बनेको भन्दै महासंघको कार्यकारी पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दलकोे चुनावमा उम्मेदवार हुने, प्रतिनिधि चयन हुने कुरा महासंघको विधान तथा पत्रकारिताको विश्वव्यापी मूल्यमान्यताको विरुद्धमा हुने ठहर समेत गरेको छ । गत भदौ ९ गते मकवानपुरको दामन बैठकबाट पारित महासंघको तीन बर्षे कार्ययोजनाको बुँदा ३.५. मा ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्नेगरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ ।’ भन्ने व्यवस्था रहेकाले उक्त बुँदा कार्यान्वयनका लागि केन्द्रीय समिति प्रतिवद्ध रहेको पनि महासंघले स्पष्ट पारेको छ ।