हेटौंडाः कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज आइतबारको खेलमा मकवानपुरका दुई चर्चित खेलाडी अन्जन विष्ट र अमीर श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । एन्फाको आयोजनामा जारी लिगमा पहिलो चरणको प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा अन्जनको कप्तानीमा मनाङ मस्र्याङ्दी क्लब र अमिर सम्मिलित जावलाखेल युथ क्लबबीच खेल हुँदैछ ।
मनाङ र जावलाखेलबीचको खेल दिउँसो ४ः४५ बजे दशरथ रंगशालामा हुँदैछ । २०७५ सालबाट मनाङमा आबद्ध हुँदै शिर्ष लिगमा डेब्यु गरेका अन्जन यसपटक टिम कप्तानको भूमिकामा देखिँदैछन् । मनाङमा अन्जनसँगै मकवानपुरका खेलाडीहरु गोलरक्षक अशोक बराल र फरवार्ड सुजल श्रेष्ठ रहेका छन् । पहिलो पटक ‘ए’ डिभिजन क्लब मनाङमा प्रवेश गरेका सुजलले आजको खेल खेल्न पाएमा लिगमा समेत डेब्यु गर्नेछन् ।
लामो समयदेखि फुटबल खैल्दै आएका अमीरले यस पटकको लिगमा जावलाखेलको तर्फबाट डेब्यु गर्दैछन् । २०६५ सालमा नै थ्रीस्टारमा आबद्ध हुँदै ‘ए’ डिभिजन लिग खेल्दै आएका भएपनि जावलाखेलबाट अमीरले पहिलो पटक खेल्दैछन् । अमीरसँगै मकवानपुरका खेलाडीहरु फरवार्ड पोजिसनका समिराज थोकर, गोलरक्षक अनिष देउला, फरवार्ड मनिष पौडेल र मिडफिल्डर सुनिल घलान जावलाखेलमा आबद्ध छन् ।
यसैगरी आजको पहिलो खेल ब्रिगेड ब्वाइज फुटबल क्लब र बिभागीय क्लब एपिएफबीच हुँदैछ । दिउँसो १ बजेबाट सुरु भएको खेलमा एफिएफमा मकवानपुरका ३ खेलाडीहरु बिके लामा, रवि थिङ र रोशन दोङ रहेका छन् । ब्रिगेड ब्वाइजमा पनि मकवानपुरका एन्जल महर्जन आबद्ध छन् ।