हेटौंडाः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मकवानपुरको दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा भोलि सोमबार निर्वाचन हुँदै छ । प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सभापतिमा हालसम्म २ जनाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष समेत रहनुभएका दामोदर खनालले प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । उहाँले प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको हो । खनालको प्यानलमा सचिवमा कविन सांगामी, दोर्जे स्याङ्तान छन् । यस्तै सह–सचिवमा इन्द्र बहादुर मोक्तान र मुना पाठक कठायत रहेका छन् । यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा धर्मराज लामिछानेले पनि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सभापतिमा हालसम्म लोक बहादुर मुक्तानले आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार हुने प्रतिनिधि सभा निर्वाचन क्षेत्रको निर्वाचनले सभापति एक, सचिव २ र सहसचिव २ जना चयन गर्नेछ । यस्तै प्रदेश सभा क्षेत्रीय सभापति प्रतिनिधि सभाको उपाध्यक्ष हुने कांग्रेसको विधानमा उल्लेख छ । उपसभापतिसहित प्रतिनिधिसभा निर्वाचन क्षेत्र समितिमा ७ जना पदाधिकारी हुने कांग्रेस मकवानपुरका पार्टी प्रवक्ता प्रदीप कोइरालाले बताउनुभयो । सोमबार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को निर्वाचन हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेशमा हुनेछ भने प्रतिनिधि सभा क्षेत्र नम्बर २ को निर्वाचन हेटौंडा–१ चौकिटोलमा हुने कोइरालाले बताउनुभयो ।