हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेमा बिहीबार साँझ दुर्घटना भएको छ । बिहीबार साँझ साढे ४ बजेको समयमा नारायणगढबाट बीरगन्जतर्फ जाँदै गरेको ना ८ ख १२४८ नम्बरको बस र बीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा ७८ प ९९३३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार अन्दाजी २१ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पुरुषलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ । मृतक पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का एकजनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाग्रस्त बस, मोटरसाइकल, बसका चालक नियन्त्रणमा राखेको छ ।











