तस्बिर गुगल

हेटौंडाः नेपालीहरुको दास्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आज मंगलबारबाट सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार आजबाट सुरु भए पनि तिथिको घटबढका कारण काग तिहार र कुकुर तिहार दुबै भोलि बुधबार परेको छ ।

आज मंगलबार साँझ यमदीप दान गरेर तिहारको सुरुवात गरिँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीप दान गर्ने शास्त्रीय विधि छ । यमदीप दान गरेमा यमराजको यातनाबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

यसवर्ष यमदीप दान, धनत्रयोदशी (धनतेरस) तथा धन्वन्तरी जयन्ती आज मंगलबार नै मनाइँदैछ । भोलि बुधबार काग तथा कुकुर तिहार र नरक चतुर्दशी परेको छ । बिहीबार लक्ष्मीपूजा मनाइँदैछ । शुक्रबार गोवद्र्धन पूजा तथा नेवारी समुदायमा म्ह–पूजा परेको छ भने २० गते शनिबार भाइटीका परेको छ । यसवर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।