हेटौंडाः बागमती प्रदेशको पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले लोकतन्त्रको रक्षा गनुपर्ने बताउनुभएको छ । मंगलबार प्रेस चौतारी मकवानपुरले अयोजना गरेको दीपावली, छठ एवं नेपाल सम्वतको शुभकामना दिदै पौडेलले लोकतन्त्र, गणतन्त्र जोगिए मात्रै देश स्वतन्त्र हुने बताउनुभयो । मुलुक अलिकति धराप अवस्थामा गुज्रिरहेको बताउँदै पौडेलले सबै कार्यपालिका, व्यवस्थापिक र न्यायपालिका र सभामुखको विषयमा समेत धेरै कुरा उठेको बताउनुभयो ।

हाम्रो गणतन्त्र, लोकतन्त्र रहे मात्र हाम्रो सपना पुरा हुने भन्दै पौडेलले यो नरहे हामीले पाएको सबै सुविधा अन्त्य हुने बताउनुभयो । सबै दलहरु लोकतन्त्र र गणतन्त्रको पक्षमा उभिनुपर्ने उहाँको भनाई थियो ।

सत्यसँग लडेर कहिल्यै नजितिने भन्दै झुटो कुराबाट कहिल्यै नझुक्ने हुनुपर्ने बताउनुभयो । सही कुरालाई निडरताका साथ भन्नसक्नुनै पत्रकारिता भएको भन्दै गलत कुरालाई सही बनाएर भन्न नहुने बताउनुभयो । मुलुकको गणतन्त्र र लोकतन्त्र बचाउन पत्रकारको कलम चल्नुपर्ने पूर्व मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
कार्यक्रममा प्रदेशको पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठ, एमाले मकवापनुरका अध्यक्ष बद्रि लम्साल, सचिव एकलाल श्रेष्ठ, जिसस मकवापनुरका प्रमुख रघुनाथ खुलाल लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।