सामूहिक तस्बिर

हेटौंडाः बागमती प्रदेश सरकारले चालु आर्थिक बर्षको बजेटमा प्रदेश सरकार आफैंले सञ्चार माध्यम सञ्चालन गर्ने कार्यक्रमलाई संशोधन गर्न नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले माग गरेको छ । शनिबार र आइतबार चितवन जिल्लामा भएको प्रादेशिक सम्मेलनको समापनपछि जारी गरिएको घोषणापत्रमा स्वतन्त्र प्रेसको संवैधानिक प्रावधानलाई आत्मसात नगरी सरकार आफैले सञ्चार गृह र सञ्चारमाध्यम सञ्चालन गर्ने गरी ल्याएको बजेट संशोधन गरी सञ्चारमाध्यम र सञ्चार संस्थाको प्रवर्धनमा खर्च गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले चालु आर्थिक बर्षलाई तालिम बर्षको रुपमा अघि बढाउने निर्णय गरेको उल्लेख गर्दै प्रदेश भित्रका सञ्चारकर्मीको क्षमता अभिवृद्धि गराउने र यस क्षेत्रमा प्रवेश गर्न चाहनेहरुलाई सीप विकास तालिम सञ्चालन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह पनि गरेको छ ।

आइतबार जारी गरिएको ११ बुँदे घोषणापत्रमा नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको आम सञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्ने निर्णय कार्यान्वयन गर्न माग गरिएको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले निर्माण गर्दै गरेको महासंघको भवनमा आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्न आवश्यक प्रवन्ध मिलाउन समेत माग गर्दै महासंघको प्रदेश कार्यालय रहेको हेटौंडा–११ स्थित जग्गामा प्रादेशिक सञ्चारग्राम स्थापनाका लागि प्रक्रिया अघि बढाउन सम्मेलन प्रदेश सरकारसँग आग्रह गरेको छ ।

घोषणापत्रमा स्थानीय सञ्चारमाध्यम प्रवद्र्धनका लागि स्थानीय तहमा उत्पादन हुने विज्ञापन स्थानीय सञ्चारमाध्यममा नै प्रकाशन प्रशारण गर्नुपर्ने व्यवस्था गर्न संघीय तथा प्रदेश सरकारसँग माग गरेको छ । महासंघलाई क्रियाशील पत्रकारहरुको संस्था बनाउनका लागि सदस्यता शुद्धिकरण अभियानमा सहयोग गर्न सबै जिल्ला शाखाहरुलाई आग्रह पनि गरिएको छ ।

प्रदेश सरकारले सञ्चार क्षेत्रसँग सम्बन्धित कानुन बनाउँदा महासंघसँग परामर्श गर्न आग्रह गर्दै श्रमजीवी पत्रकारको हकहित र प्रेस स्वतन्त्रता कुण्ठित नहुने गरी प्रेसमैत्री कानुन बनाउन घोषणापत्रमा भनिएको छ ।