
हेटौंडाः मकवानपुर जिल्लाको विभिन्न स्थानमा भएको कार्यक्रममा शनिबार ५ सय १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस हेटौंडा उपमहानगर समितिले तिहार, छठ, नेपाल सम्वत् तथा क्रिसमसको उपलक्ष्यमा शनिबार बिहान जिल्ला पार्टी कार्यालयमा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य विष्णुगोपाल महर्जन तथा घरजग्गा व्यवसायी संघका अध्यक्ष ध्रुव घिमिरेसहित एमाले, माओवादी केन्द्र र राप्रपाका २ सय १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनीको सभाध्यक्षता, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्य तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा महर्जन र घिमिरेसहित २ सय १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै नेतृ डिनाले कम्युनिष्टको भ्रष्टचार, अत्याचार र झुठो आश्वासनले गर्दा जनताहरुमा कांग्रेसप्रति आकर्षण बढेको बताउँदै कम्युनिष्टको गढ रहेको मकवानपुरसहित देशैभर कांग्रेसले दुई तिहाई मत ल्याउने जिकिर गर्नुभयो । त्यसैगरी नेता बानियाँले कम्युनिष्टहरु झुठको पुलिन्दा आश्वासन मात्रै बाँड्ने र चरम भ्रष्टाचारमा लिप्त भएको देखेर आम जनता आजित भएको बताउँदै कांग्रेसले जे बोल्छ त्यो मात्रै गर्ने देखेर जनताले कांग्रेसलाई विश्वास गरेको बताउनुभयो ।
कांग्रेसले नवप्रवेशीलाई योग्यता र क्षमताको आधारमा पार्टीमा स्थान दिने तथा अब कांग्रेसलाई शुद्धिकरण र सुदृढिकरण अभियान थाल्ने बताउँदै नेता बानियाँले विगतमा मैले यो गरेँ त्यो गरेँ भन्दै अहिले केही नगरी ब्याज मात्रै खाएर बस्नेहरुले पार्टी र कार्यकर्ताहरुलाई थप उर्जा दिन नसक्ने बताउनुभयो ।
यसैगरी मकवानपुर गढी गाउँपालिका ३ र ४ को आयोजनामा शनिबार नै भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय ९५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस गढी गाउँपालिका ४ का वडा सभापति सुभाष सापकोटाको सभाध्यक्षता तथा नेता बानियाँको प्रमूख आतिथ्यमा भएको कार्यक्रममा एमाले, माओवादी केन्द्र, राप्रपालगायतका पार्टीबाट २ सय ९५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेता बानियाँले सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
शनिबार नै हेटौंडा १० मा वडा सभापति युवराज लामाको सभाध्यक्षतामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको थियो । विभिन्न कार्यक्रमहरुमा संविधानसभा सदस्य शोभाकर पराजुली, पार्टी सचिव बुद्ध लामा, निवर्तमान नगरसभापति आनन्दराम पराजुली, नगर उपसभापति रामकृष्ण कोइराला, मकवानपुरगढी गाउँपालिका सभापति राजवीर मुक्तान, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, गढी ३ का सभापति विजय लामा थोकर, नवप्रवेशीहरु एमाले जिल्ला सदस्य महर्जन, घिमिरे, सन्दिप शाक्य, दीपक ढुंगानालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमहरुमा जिल्ला पार्टीका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोइराला, जिल्ला सल्लाहकार तथा नेविसंघ केन्द्रीय महामन्त्री प्रभात दाहाल, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं रेडियो नेपालका उपनिर्देशक नवराज लम्साल, जिल्ला सदस्यहरु, महाधिबेशन तथा महासमिति सदस्यहरु, भातृ तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।