हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा प्रथम त्रैमासिक परीक्षा आगामी मंसिर ५ गतेबाट सुरु हुने भएको छ । राक्सिराङ गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा बुधबार प्रधानाध्यापकहरुबीच भएको अन्तरक्रिया कार्यक्रमले मंसिर ५ गतेबाट १२ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
राक्सिराङमा अहिले सम्पूर्ण विद्यालय पूर्णरुपमा सञ्चालन भइरहेको गाउँपालिकाका शिक्षा अधिकृत प्रदीप पराजुलीले बताउनुभयो । विद्यालयहरुमा बिहान १० बजेदेखि ४ बजेसम्म पढाइ भइरहेको उहाँले जानकारी दिनुभयो ।
लामो समयदेखि बन्द भएका विद्यालय सञ्चालनमा आएको २ महिनापछि राक्सिराङका सम्पूर्ण विद्यालयले प्रथम त्रैमासिक परीक्षा लिन लागेका हुन् । स्थानीय पाठ्यक्रम लागू गरेको जिल्लाको पहिलो पालिका राक्सिराङमा ६ हजार विद्यार्थी अध्ययनरत रहेको पराजुलीले बताउनुभयो । ५२ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालय गरी ५४ वटा विद्यालयमा परीक्षा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
कोरोना महामारी पूर्णरुपमा अन्त्य नभइसकेकाले कसरी विद्यालय सञ्चालन तथा पठनपाठन भइरहेको छ भन्नेबारेमा बैठकमा छलफल भएको शिक्षा अधिकृत पराजुलीले जानकारी दिनुभयो । यस्तै, शिक्षण सिकाई प्रभावकारी भएको छ या छैन, अतिरिक्त क्रियाकलापमा विद्यालयले विद्यार्थीलाई कसरी सहभागी गराइरहेका छन् लगायतका विषयमा बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।
गाउँपालिकाको शिक्षा शाखाले आर्थिक वर्ष २०७६/०७७ को लेखा परीक्षण प्रतिवेदन, २०७७/०७८ को सामाजिक परीक्षण प्रतिवेदन, छात्रवृत्ति वितरण भर्पाइ, पाठ्यपुस्तक खरिद तथा वितरण गरेको बिल भर्पाइ र स्वास्थ्य सुरक्षाका सामग्री खरिद तथा वितरण गरेको बिल भर्पाइ पेश गर्न निर्देशन दिइएको पराजुलीले जानकारी दिनुभयो । यसैगरी सिकाई उपलब्धी २०७७, विद्यालय सुधार योजना, शैक्षिक सत्र २०७८ को एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) अद्यावधिक गर्न बाँकी विद्यालयले यथाशिघ्र अद्यावधिक गर्ने, रुजु हाजिरी (बुझाउन बाँकी महिनाको) र शिक्षण अनुदान प्राप्त विद्यालयहरुले विषय खुल्ने गरी शिक्षक मागको पत्र पेश गर्न पनि निर्देशन दिइएको उहाँले बताउनुभयो ।
राक्सिराङ गाउँपालिका मिनिमम लकडाउनको क्षेत्रमा परेपछि गत असोजबाट नै पूर्णरुपमा विद्यालय सञ्चालन गरेको पराजुलीले बताउनुभयो । विद्यालयहरुले दिवा खाजा वितरणलाई समेत निरन्तरता दिएको उहाँले जानकारी दिनुभयो ।