सहकारीद्वारा सम्मानित ज्येष्ठ नागरिक (पहिलो लहर) सहित साधारणसभामा सहभागी सेयर सदस्यहरु ।

हेटौंडाः हेटौंडा–११, थानाभर्‍याङस्थित उपयोगी सहश्राव्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभा शनिबार भएको छ । सहकारीका अध्यक्ष दिनेश विडारीको अध्यक्षता तथा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

साधारणसभामा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको पनि उपस्थिति रहेको थियो । १ हजार २ सय ५१ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी ८७ लाख १० हजार रुपैयाँ रहेको छ ।

सहकारीले ६ करोड ९० लाख रुपैयाँ बचत संकलन गर्दा ५ करोड ८८ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले सेवा क्षेत्र विस्तार गरेर सेयर सदस्यसँगै कारोबार पनि बढाउने योजना रहेको अध्यक्ष दिनेश विडारीले जानकारी दिनुभएको छ । साधारणसभाको अवसरमा सहकारीले ज्येष्ठ सदस्य, असल बचतकर्ता, ऋणी, जेहेनदार विद्यार्थीलाई सम्मान समेत गरेको थियो ।