हेटौंडाः मकवानपुरका ८ वटा पालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेको पालिका अधिवेशन आज शनिबार आयोजना हुँदैछ । आज शनिबार हेटौंडा उपमहानगरपालिकासहित जिल्लाको ८ वटा पालिकाहरुको अधिवेशन भव्यरुपमा सम्पन्न गर्न नेकपा एमाले मकवानपुरले तयारी तिब्र पारेको छ ।

शनिबार हेटौंडा उपमहानगर अधिवेशनमा नेकपा एमाले केन्द्रीय स्थायी कमिटी सदस्य शंकर पोखरेलको प्रमुख आतिथ्यतामा अधिवेशन गर्ने तयारी पूरा भएको नेकपा एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठले जानकारी दिनुभयो । अधिवेशनको तयारीका लागि जिल्ला कमिटीको निर्देशनमा पालिका कमिटीहरु तिब्ररुपमा लागिरहेको उहाँले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगर अधिवेशनमा आयोजक, पाटी सदस्यहरुले चुनेका प्रतिनिधिहरु गरी लगभग ७ सयजना प्रतिनिधिहरुको उपस्थितिमा अधिवेशन आयोजनाको तयारी गरिएको छ । यस्तै अन्य पालिकाहरुमा पनि पालिकागत तयारी भइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

हेटौंडा नगर अधिवेशन हेटौंडा–४ स्थित रोयल प्यालेसमा आयोजना हुने भएको छ । यस्तै थाहा नगर अधिवेशन पालुङमा हुनेछ । गाउँपालिकाअन्तर्गत् मनहरी अधिवेशन रजैयामा, भीमफेदी अधिवेशन भीमफेदी बजारमा, ईन्द्रसरोबर अधिवेशन कुलेखानीमा आयोजना हुने जनाइएको छ । यसैगरी बागमती अधिवेशन फापरबारीमा, बकैया अधिवेशन हात्तीसुँडेमा र मकवानपुरगढी अधिवेशन आमभञ्ज्याङमा आयोजना हुने सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

कैलाश र राक्सिराङमा सर्वसम्मत नेतृत्व चयन
मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा भने पार्टी अधिवेशन सम्पन्न भइसकेको छ । शुक्रबार कैलाश गाउँपालिकामा प्रथम अधिवेशन सम्पन्न भएको हो भने बिहीबार राक्सिराङमा पनि प्रथम अधिवेशन भएको हो । शुक्रबार कैलाशमा भएको अधिवेशनबाट पुण्यप्रसाद भण्डारीलाई पार्टीको गाउँपालिका कमिटी अध्यक्षतामा सर्वसम्मत चयन गरिएको छ । भण्डारीको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटीसमेत गठन भएको छ ।

कमिटीको उपाध्यक्षमा छेकु लामा, सचिवमा राजकुमार गोले तथा उपसचिवमा गौरी बर्तौला र ओमकुमार मोक्तानलाई चयन गरिएको छ । अधिवेशन कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश विशेष कमिटी सदस्य महेश बर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका उपसचिव लालबहादुर थापा, जिल्ला कमिटी सदस्यहरु, १ सय १२ जना प्रतिनिधि, ७६ सदस्यीय आयोजक कमिटीसहित ४ सय जनाको उपस्थिति रहेको थियो ।

यस्तै, राक्सिराङ गाउँपालिका कमिटीको अध्यक्षमा सिंहराम रुम्बा (रोहन) लाई सर्वसम्मत चयन गरिएको छ । बिहीबार भएको अधिवेशनबाट रुम्बाको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ ।

कमिटीको उपाध्यक्षमा रञ्जीता घलान, सचिवमा दिनेश चेपाङ तथा उपसचिवमा सञ्चबहादुर चेपाङ र दिनेश वाइबा चयन भएका छन् । अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश विशेष कमिटी सदस्य महेश बर्तौला, जिल्ला कमिटी सदस्यहरु, २ सय ५० जना प्रतिनिधि, ९३ सदस्यीय आयोजक कमिटीसहित ४ सय जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।