हेटौंडाः मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ नेपालमा कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना गरिने भएको छ । तथ्यांक विभागले ४० हजार गणकलाई खटाएर जनगणना गर्ने भएको हो । नेपालमा जनगणनाबाट ७० लाख घरपरिवार र ३ करोड जनसंख्या पुग्ने अनुमान तथ्यांक विभागले गरेको छ ।
बुधबार हेटौंडामा मिडिया एक्सन नेपालले गरेको एक दिने कार्यशालामा तथ्यांक विभागका केन्द्रीय निर्देशक ढुण्डिराज लामिछानेले मंसिर महिनासम्म तथ्यांक संकलन हुने र पुस महिनाबाट स्थलगतबाट प्राप्त तथ्यांकलाई इन्ट्री गर्न सुरु हुनेछ । तथ्यांक विभागले गणकहरुबाट प्राप्त तथ्यांकलाई ६ महिनाभित्र सिस्टममा इन्ट्री गरिसक्ने र एक वर्षपछि तथ्यांक सार्वजनिक गर्ने उहाँले बताउनुभयो । नेपालमा वि.सं १९६८ मा पहिलो पटक राष्ट्रिय जनगणना भएको थियो । त्यसपछि प्रत्येक १०/१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।
यो पटक हुने जनगणनामा अटिजम, कृषि, बैंक खाता, घरपरिवार, पशु, अक्सर बसोबास गरेका पुरुष, महिला र अन्य लिङ्गीको गणना हुने भएको छ । जनगणनामा सडक मानवहरुको पनि गणना हुने तथ्यांक विभागका निर्देशक लामिछानेले बताउनुभयो ।
बुधबार मिडिया एक्सन बागमती प्रदेशको आयोजनामा भएको कार्यशालामा जनगणनामा पत्रकारको भूमिका कस्तो हुनुपर्नेलगायत विषयमा छलफल भएको थियो । मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले तथ्यांक विश्लेषण, न्यूज स्टोरी, आर्टिकललगायतको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यशालामा चितवन र मकवानपुरका पत्रकारहरुको उपस्थिति रहेको थियो ।