हेटौंडाः हेटौंडा उपमहानगरपालिकाकोे शिक्षा विकास महाशाखाले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत् विभिन्न कार्यक्रमका लागि सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेश गर्न आग्रह गरेको छ । महाशाखाले विभिन्न मितिमा सूचना प्रकाशित गरी कार्यक्रम आवश्यक भएका सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।
संघीय सरकारको २० लाख रुपैयाँ बजेट अनुदानबाट स्वीकृत वार्षिक कार्यक्रम सञ्चालन गर्न हेटौंडा उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुलाई कार्यक्रम प्रस्ताव पेश गर्न आग्रह गरिएको महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो । माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड र प्रोजेक्टरमा आधारित सिकाई, आधारभूत विद्यालयमा कम्तिमा एक कम्प्युटर/एक ल्यापटप र प्रिन्टर, नमुना बाल विकास कार्यक्रमका लागि सामग्री सहयोग, गणित विषयको विषयगत प्रयोगशाला निर्माण, विद्यालयहरुमा युरोगार्ड जडानलगायत कार्यक्रमका लागि प्रस्ताव माग गरिएको उहाँले बताउनुभयो ।
विद्यालयबाट प्राप्त भएका प्रस्तावहरुको मूल्यांकन गरेर आवश्यकता र औचित्यको आधारमा विद्यालय छनौट गरी कार्यक्रम सञ्चालन गरिने महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले बताउनुभयो । ईमिएस अपडेड, विद्यार्थी संख्या, सामाजिक परीक्षणजस्ता विभिन्न आधारमा विद्यालयको मूल्यांकन गरिने उहाँले जानकारी दिनुभयो ।
हेटौंडा उपमहानगरपालिकाभित्र ७६ वटा सामुदायिक विद्यालय रहेका छन् । प्राथमिक, आधारभूत र माध्यमिक तहका कक्षाहरु सञ्चालन भइरहेका विद्यालयहरुका लागि विभिन्न कार्यक्रम समावेश गरिएको छ । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रस्ताव पेश गर्नुपर्ने उहाँले बताउनुभयो ।